विचा पूजा गरी सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा

बुङ्मतीमा स्थानीयको सहभागितामा पूजा 
शनिबार, जेठ ८, २०७८

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचा  पूजा स्थानीयवासीको उपस्थितिमा सम्पन्न भएको छ ।  हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलन छ । यो वर्ष बुङ्मती आसपास क्षेत्रका मानिसको सहभागितामा मात्रै विचारी पूजा सम्पन्न भएको ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, ‘मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्ट र यसबाट ज्यान गुमाउने मानिसको संख्या दिनानुदिन बढ्दै जाँदा घरमा जुठो परेका मृतक परिवारको नाममा बत्ती बाल्ने केही मानिसबाहेक अन्य भक्तजन पूजमा उपस्थित भएका थिएनन् ।’  उक्त पूजाका दिन सरकारी पूजा गर्नुपर्ने चलनानुसार गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट पूजा गरेर फर्किइसकेको कार्यालय प्रमुख खिमा वलीले बताइन् । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने बुझ्न विचारी पूजा गर्ने नियम रहेको जनाइएको छ । करुणामयको मन्दिर हाल बुङ्मतीमा निर्माणाधीन  भएकाले अस्थायी मन्दिरमा राखेर विचा पूजा गरिएको थियो ।  उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायण लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार गत बुधबार लोकेश्वरलाई खटमा हालेर बुङ्मती पु¥याइएको हो ।  गत मङ्सिरमा वृष्टिदेवलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगेर राखिएको थियो ।  काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई हिन्दूका साथै बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।–रासस 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार