अग्नीपीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

सोमबार, चैत ५, २०८०

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो । 
आगलागीबाट पीडित फणिन्द्र गौतम र देवी गौतमको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गाउँपालिकाले पीडितहरूलाई तीस हजार रुपैयाँ नगद, ५० केजी चामल, ५ केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १० लिटर, चाउचाउ १ कार्टुन, प्याज २ केजी, आलु ५ केजी, चिनी २ केजी सिरक एक थान, डसना एक थान, तन्ना एक थान र त्रिपाल एक थान उपलब्ध गराएको हो । 
आइतबार पीडितहरूलाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडा नं. १ का अध्यक्ष प्रेमराज फोम्बो, वडा नं. ३ का अध्यक्ष बुद्धि गुरुङ, वडा नं.६ का अध्यक्ष एवम् प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा, प्रमुख प्रशासकीय अधिकृत निराज शर्मा लगायतले राहत वितरण गरे । 
शनिबार दिउँसो कोयाखोला नजिकको जंगलबाट अचानक सुरु भएको आगोले पुरानागाउँका चार परिवारका तीन घर र दुई वटा गोठ नष्ट गरेको थियो । 
आगलागीले गणेश गौतम, बलराम गौतम, देवी गौतम र गोविन्द गौतमका ३ वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए । गणेश गौतम र बलराम गौतमको घरमा बन्धकीमा फणेन्द्र गौतमको चार जनाको परिवार बस्दै आएको थियो । 
देवी गौतमको घरमा २ जना बस्दै आएका थिए । गोविन्द गौतमको घरमा भने काठपातमात्रै राखिएका थिए । आगलागीले एक करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार