प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड 

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ । संघमा दलीय गठबन्धनको  समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ । यस विषयमा मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित बैठक गरेको हो । बैठकमा कांग्रेसले  प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी सहमहामन्त्री जीवन परियारले बताए । 
उनले भने, ‘प्रदेशहरूमा जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ । यसमा केन्द्रले पनि सहयोग गर्नेछ । सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ ।’
सहमहामन्त्री परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार