नेपाल–बंगलादेश व्यापार बढाउन राजदूतसँग छलफल

आइतबार, फागुन २७, २०८०

विराटनगर । नेपाल र बंगलादेशबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध एवं उद्योग व्यवसाय प्रवर्द्धनबारे छलफल गरिएको छ ।
आज विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा दुई देशबीच व्यापार विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य र साझेदारीको सम्भावनाबारे छलफल गरिएको हो ।
नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग यसबारे पूर्वका उद्योगी–व्यवसायीले छलफल गरेका हुन् ।
छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि सहकार्यमा जोड दिए ।
उनले नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउँदै समाधानका लागि सहजीकरण गर्न राजदूतसमक्ष आग्रह गरे । 
अध्यक्ष सुरानाले बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरुसँग संस्थागत सम्बन्ध विस्तारमा जोड दिंदै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र्यालीका साथै नेपाल र बंगलादेशका उद्योगीहरुबीच सम्बन्ध बिस्तारका लागि आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरे । 
उक्त अवसरमा बंगलादेशका राजदूत चौधरीले नेपाल र बंगलादेशकाबीच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचूर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बीचको सम्बन्ध विस्तारका लागि दूताबास निरन्तर सहजीकरण गर्न तत्पर रहेको बताए । 
उनले निर्यातमा देखिएका समस्या समाधान लागि आफनो तर्फबाट पहल र प्रयास रहने स्पष्ट प्रतिबद्धता पनि जनाए ।
राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दूतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने जनाए ।
कार्यक्रममा उद्योग संगठन मोरङका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेशको दूतावासका अधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार