ललितपुर महानगरले महिला दिवसको नारालाई सफल बनाउन नीति निर्माणसहित बजेट विनियोजन गर्ने 

शनिबार, फागुन २६, २०८०

ललितपुर ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारालाई सफल बनाउन महानगरले लैंगिकमैत्री नीतिनिर्माण सहित बजेट विनियोजन गर्ने बताएका छन् । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको समय आएको छ, नीति निर्माणका बारेमा छफफलको समय भएको छ, नीतिमा के के परिवर्तन गर्नुपर्ला जसले गर्दा महिला शसक्त हुन्छन्  सुझाव पाऊँ ।’ 

429893172_424658996906705_3642174460553394666_n-1709988198.jpg

लैंगिकमैत्री कानुन निर्माण र बजेट विनियोजन महिलामा लगानी गर्नु भएको उनले दाबी गरे । नगर प्रमुख महर्जनले सुझावलाई उपप्रमुखसहित आफूले नगरसभाबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरे । 
ललितपुर महानगर साइकल लेन बनाउने पहिलो स्थानीय तह भएको बताउँदै साइकल लेन बनेपछि साइकल चलाउन धेरै नागरिक प्रेरित भएको स्पष्ट पारे । साइकल लेन बनाएपनि साइकलसबन्धी कानुन बनाउन महानगरले नसकेको बताउँदै उनले प्रष्ट पारे, ‘संघ , प्रदेशको कानुनमा टेकेर कानुन बनाउनुपर्छ स्थानीय तहले कानुन बनाउँदा, संघ र प्रदेशमा साइकलसम्बन्धी कानुन बनेकै रहेनछ ।’ संघ र प्रदेशलाई साइकलसम्बन्धी कानुन बनाउन घच्घचाउन समेत उनले सरोकारवालाहरुलाई अनुरोध गरे । 

430382738_759222366152327_5690549876948460405_n-1709988323.jpg

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला आफू नै आफ्नो प्रेरणाको स्रोत भएको बताइन् । महानगरले महिलाका लागि विभिन्न तालिम संचालन गरेर महिलामा लगानी गरेको बताइन् । उनले तालिमलाई व्यवहारमा उतारेर उद्यमी बन्न अनुरोध गरिन् । आर्थिक आत्मनिर्भरता महिला सशक्तिकरणको मुल आधार भएको प्रष्ट पारिन् । 
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले आर्थिक आत्मनिर्भरता महिला सशक्तिकरणको मुल आधार भएको बताउँदै कानुनी सचेतना पनि सशक्तिकरणका लागि महत्वपूर्ण प्रष्ट पारे । 
यस वर्षको राष्ट्रिय नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ । त्यसैगरी महानगरले ‘लैंगिक हिंसा निवारणका लागि आर्थिक सशक्तिकरण र कानूनी सचेतना, लैंगिक मैत्री नगर निर्माण हाम्रो चाहना’ नारा तय गरेको छ । 

WhatsApp-Image-2024-03-09-at-18.00.55-1709988237.jpeg

युएनडीपीकी नेपालस्थित आवासीय प्रतिनिधि आसियानी मेडागान्गाडा लाबेले महिलालाई प्रत्येक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै भनिन्, ‘खानेपानी, बस्ने ठाउँ, विद्यालय , यातायात, सम्मानजनक जीवन लगायत सम्पूर्णमा लगानी गर्नुपर्छ ।’ यी सम्पूर्ण क्षेत्रमा महिलामाथि गरिने लगानी नीति, नियमले मात्रै गर्न सक्ने बताउँदै उनले भनिन्, ‘यी सम्पूर्ण कुराका बारेमा बोलौँ ।’
युएसएआइडीकी उपनिर्देशक डा.किम्बरली वालरले साइकल चलाउँदा महिला आत्मनिर्भर हुने बताइन् । उनले भनिन्, ‘साइकल आत्मनिर्भरताको महत्वपूर्ण साधन हो, साइकलले आत्मनिर्भर बनाउँछ ।’ साइकलले आत्मनिर्भर मात्रै होइन, स्वस्थ समेत राख्ने बताउँदै वातावरणको संरक्षणमा पनि महत्वपूर्ण योगदान हुने प्रष्ट पारिन् । 

महिला दिवसमा साइकल र्‍याली 
ललितपुर महानगरले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साइकल र्‍याली आयोजना गरेको छ । मंगलबजारबाट सुरु भएको र्‍याली मंगलबजारमा पुगेर सभामा परिणत भएको थियो । यसैगरी दिवसको अवसरमा महानगरले महिला सशक्तिकरणमा साइकलको भूमिका विषयक छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । महानगरले दिवसको अवसरमा महिलाको निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था मिलाएको थियो । यसका साथै पाटन दरबार क्षेत्रमा उद्यमीहरूले उत्पादन गरेको हस्तकलाको सामग्री विक्रीका लागि स्टलहरू समेत राखिएको थियो ।

WhatsApp-Image-2024-03-09-at-18.01.01-1709988235.jpeg
 

 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार