आफू कोरोनामुक्त भएपछि सङ्क्रमितलाई खानाको प्रबन्ध गर्दै सांसद राजीव पहारी 

शुक्रबार, जेठ ७, २०७८

पोखरा । तीन दिन अघि मात्रै कोरोना सङ्क्रमणबाट मुक्त  गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी यतिबेला अन्य सङक्रमितको हेरचाह र सेवामा जुटेका छन् । उनी अहिले सङ्क्रमितका लागि एम्बुलेन्सको व्यवस्थापन र भोजन व्यवस्थापनमा जुटेका हुन् । पोखरा महानगरपालिका–३० स्थित  गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा पुगेर प्रदेश सांसद पहारीले अस्पतालमा उपचारत ६० जना सङ्क्रमित र १० जना स्वास्थ्यकर्मी गरी ७० जनालाई १० दिनका लागि खाना र खाजाको व्यबस्थापन गरेका छन् ।  ‘अहिलेको महामारीमा बिरामीलाई आवश्यक उपचार, सकारात्मक उत्प्रेरणा र पौष्टिक खानाको आवश्यक छ । त्यसैले सहयोगमा जुटेको हुँ’, प्रदेश सांसद पहारीले भने, ‘म आफै पनि निकै कष्टकर रूपमा यस कोभिडसँग लडेको हुँ, मलाई थाहा कति गाह्रो हुन्छ  ।’ उनले महामारीविरुद्ध सबैले आफ्नो स्थानबाट सक्दो सहयोग गरेर सङ्क्रमितलाई सकारात्मक ऊर्जा प्रदान गर्न आग्रह गरेका छन् । 
अहिलेको मुख्य काम जनताको जिऊ ज्यानको रक्षा भएको जनाउँदै पहारीले आर्थिक वर्ष २०७७÷७८ को खर्च हुने नसकेको  विकास बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताए । उनले ज्यान रहे विकास गर्न सकिने भएकाले राज्यका सबै संयन्त्र अहिले कोभिड नियन्त्रणमा लाग्नुपर्ने धारणा राखे ।  पहारीका अनुसार सो अभियानमा  खाना खाजा  व्यवस्थापन  नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भीष्मराज पौडेल र जर्जियाका लागि नेपालका पर्यटकीय सद्भावना दूत दिपक पहारीले सघाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार