हेटौँडामा प्रकोप जोखिम न्यूनीकरण केन्द्र बन्ने

शनिबार, फागुन १२, २०८०

ललितपुर । प्रकोप जोखिम न्यूनीकरण अध्ययन र अनुसन्धान केन्द्रको भवन निर्माण प्रक्रिया अघि बढ्ने भएको छ ।  सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको शुक्रबार बसेको बैठकले केन्द्रको भवन निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।  सिटीनेट एसिया प्यासिफिक रिजनका नगरपालिका, नगरपालिकाको विकासका लागि संलग्न संघसंस्थाहरु आबद्ध रहेको संजाल हो । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरमा ललितपुरको गोदावरी नगरपालिकालगायतका अन्य नगरपालिका र सरोकारवाला संघसंस्थाको सहभागिता रहेको छ ।  च्याप्टरको यसअघि विराटनगर महानगरपालिकामा बसेको बैठकले प्रकोप जोखिम न्यूनीकरण अध्ययन र अनुसन्धान केन्द्र आवश्यक भएको औंल्याएको थियो । विराटनगरमा बसेको बैठकमा हेँटौडा उपमहानगरपालिकाले केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सन्दर्भमा समेत छलफल भएको थियो । शुक्रबार ललितपुर महानगरमा बसेको बैठकमा सिटीनेटका कार्यसमिति सदस्य तथा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले तीन महिनाभित्र जग्गा प्राप्ति र भवनको डिपिआरको विषय टुङ्ग्याउने बताए ।  उनले भने, ‘ तीनमहिना भित्र यी काय टुङ्ग्याऔँ, त्यसपछि भवन निर्माणका लागि आवश्यक खर्चबर्चको बारेमा अन्तर्राष्ट्रिय स्रोत पनि खोजलाँ ।’ उनले २०८४ सालभित्र भवन निर्माणको काम सक्ने गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Sequence-01.00_02_57_24.Still041-1708739543.jpg

सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रकोपको जोखिम न्यूनीकरणका लागि अध्ययन र अनुसन्धान गर्नका यो केन्द्र अत्यावश्यक भएको बताउँदै भवन निर्माणका लागि संघीय र प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने स्पष्ट पारे । 
हेटौँडा उपमहानगरपालिकाका प्रमुख तथा  सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरका पूर्वअध्यक्ष मिनाकुमारी लामाले जग्गाप्राप्तिको विषय ठूलो नभएको बताइन् । जग्गाको सम्बन्धमा अप्ठ्यारो झेल्नु नपर्ने धारणा राख्दै लामाले भवन निर्माणको प्रक्रिया जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताइन् । उनले भनिन् , ‘२०८४ सालभित्र निर्माण सम्पन्न गर्ने गरी अघि बढौँ , यसमा हेँटौडा नगरपालिका साथ र सहयोगका लागि हरदम तयार छ ।’ भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले नेपाल समय र भूगोल अनुसार फरक फरक प्राकृतिक प्रकोपको जोखिममा रहेको बताउँदै केन्द्रको निर्माण जतिसक्दो छिटो गर्नुपर्ने धारणा राखे । उनले भने,‘ प्रकोपको बारेमा अध्ययन, अनुसन्धान र सिक्ने थलो यो केन्द्रले हामीलाई प्रकोपका जोखिम न्यून गर्न र बाच्न धेरै ज्ञानसीप प्रदान गर्छ । ’
सिटीनेटका केन्द्रीय हिराताले जापानमा रहेको प्रकोप जोखिम न्यूनिकरण अध्ययन केन्द्रको बारेमा व्याख्या गरेका थिए । हिराताका अनुसार जापानको केन्द्रमा अग्नि नियन्त्रकहरुलाई तालिमको व्यवस्था, ५० हजारलाई एक सातासम्म पुग्ने खानाको व्यवस्था, मोवाइल शौचालय  र ओड्ने ओछ्याने को समेत व्यवस्था गरिएको छ । आगोको प्रकृति अनुसार निभाउने तरिका समेत जापानको केन्द्रमा सिकाउने व्यवस्था गरिएको उनले जानकारी दिए 

Sequence-01.00_04_36_21.Still054-1708739543.jpg
 

सिटीनेटको १० औैं कार्यसमिति बैठक पोखरामा 
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिटीनेटको १० औं कार्यसमिति बैठक पोखरामा आयोजना गर्न महानगर तयार रहेको बताएका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उक्त बैठक सन् २०२६ मा आयोजना गर्नुपर्नेछ । उक्त बैठकमा तीन सय भन्दा धेरैको सहभागिता रहनेछ । पोखरा महानगर प्रमुख आचार्यले भने, ‘ हामी पूर्ण रुपमा तयार छौं , व्यवस्थित  र राम्रा होटेल छन्, केही नयाँ होटेलहरु पनि बन्दैछन् , सुविधासम्पन्न एयरपोर्ट छ, अतिथिलाई स्वागत सत्कार गर्न पोखरा अब्बल छ, पछि पर्दैन, बैठकमा उठाउने एजेण्डा पनि महत्वपूर्ण छन् ।’  उनले पोखरामा चालु आर्थिक वर्र्षमा धेरैवटा अन्तर्राष्ट्रिय कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । सिटीनेट कार्यसमिति सदस्य तथा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बैठक आयोजना संस्था पोखरा महानगर भएपछि सहकार्य अत्यावश्यक भएको बताए । उनले भने, ‘यो हाम्रो बैठक हो, सबै मिलेर पोखरामा गरौँ , सफल बनाऔँ ।’

Sequence-01.00_00_09_21.Still001-1708739545.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार