हात्ती प्रभावित क्षेत्रमा आजदेखि पदयात्रा

बुधबार, फागुन ९, २०८०

विराटनगर । हात्ती प्रभावित क्षेत्रमा आजदेखि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहितको टोलीले पदयात्रा सुरू गर्दैछ । यो यात्रालाई ‘मुख्यमन्त्री हात्तीमैत्री पदयात्रा’ नाम दिइएको छ ।
‘प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा–२०८०’ भन्ने नारासाथ सुरु हुने पदयात्रामा संरक्षणकर्मी, हात्ती विज्ञ, नागरिक समाज लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता हुने जनाइएको छ ।
झापाको मेचीनगर नगरपालिका–१ बाट पदयात्रा सुरु हुनेछ । पदयात्राका क्रममा स्थानीय बासिन्दासँग अन्तर्क्रिया गरी सुझाव संकलन समेत गरिने भएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार पदयात्रा करिब २४० किलोमिटर दूरीको हुनेछ । यात्रा गरिने स्थान जंगली हात्ती आउजाउ गरिरहने क्षेत्र हो ।
पदयात्रामा सहभागी टोली भोलि बिहीबार झापाको दोमुखा हुँदै रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्र भएर सताक्षीधाम पुग्नेछ । त्यसपछि झापासँग जोडिएको इलामको दक्षिणी क्षेत्र चुलाचुली हुँदै पदयात्रा टोली अघि बढ्ने जनाइएको छ ।
पदयात्रा इलाम, झापा, मोरङ, सुनसरीका विभिन्न क्षेत्र हुँदै उदयपुरसम्म पुग्नेछ । फागुन फागुन १५ गते उदयपुरको कटारी, बेलस्रोत बजार पुगेर पदयात्रा सम्पन्न हुनेछ । 
कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुने पदयात्राले हात्तीको जैविक मार्गको पुनःस्थापना एवं बासस्थानको सुधार गरी जैविक विविधताको संरक्षण, प्रदेशमा मानव–हात्ती सहअस्तित्व कायम गर्दै हात्तीको माध्यमबाट पर्यापर्यटनको विकास गर्न सकिने सम्भावनाबारे अध्ययन गर्ने जनाइएको छ ।
जंगली हात्तीले मोरङ, झापा, सुनसरी र उदयपुरका बस्ती प्रवेश गरी स्थानीयको घर भत्काउने, बालीनाली खाइदिने, नष्ट गर्ने गरेका छन् ।
त्यसरी गाउँ प्रवेश गर्ने र गाउँ नजिकका जंगलमा डुल्ने क्रममा हात्तीको आक्रमणमा परी यी चार जिल्लामा केही महिना यता ७ जनाभन्दा बढी स्थानीयको ज्यान गइसकेको छ ।
यसअघि मुख्यमन्त्री कार्कीसहितको टोलीले हात्ती प्रभावित मोरङका उत्तरी गाउँको अवलोकन भ्रमण गरेको थियो ।
हात्तीका कारण मानवीय र भौतिक क्षति बढेपछि कोशी प्रदेश सरकारले स्थलगत अवलोकन भ्रमण गरी स्थानीय बासिन्दासँग छलफल र सुझाव संकलन गर्ने योजना बनाइएअनुसार पदयात्रा आयोजना गरिएको हो ।
मुख्यमन्त्री कार्कीले जङ्गली हात्ती व्यवस्थापन गर्न हात्ती कोरिडोर बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार