काँग्रेस र माओवादीबाट थपिए कोशी मन्त्रिपरिषदमा ६ जना सदस्य, थपिएका मन्त्रीले लिए आजै शपथ

शुक्रबार, माघ २६, २०८०

विराटनगर । कोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री केदार कार्कीले उनीहरुलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् ।
थपिएका मन्त्रीहरुमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री छन् । सनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
यस्तै, कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गरिएको छ ।
माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि कात्तिक १७ गते मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार