पहिचानवादी र कोशी सरकारबीच आज पनि वार्ता

शुक्रबार, माघ २६, २०८०

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीच आज पनि वार्ता हुने भएको छ । बिहीबार पहिलो दिनको वार्तामा विषय प्रवेश भए पनि ठोस निष्कर्ष ननिस्किएपछि शुक्रबार पुनः बस्ने गरी हिजोको वार्ता सकिएको हो । विराटनगरको ‘बिग’ होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका छन् । वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूलगायत सहभागी थिए । उनले पहिलो दिनको  वार्ता सकारात्मक भएको भन्दै भोलि फेरि बस्ने सहमतिका साथ सम्पन्न भएको बताए । संघर्ष समितिका तर्फबाट वार्तामा युवराज राईलगायतको सहभागिता थियो । समितिको वार्ता टोलीले पनि आजको वार्तामा दुवै तर्फबाट आफ्ना कुरा राखिएको उल्लेख गर्दै सकारात्मक भएको जानकारी दिए ।
सरकारी टोलीमा जबेगूको संयोजकतत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव छन् ।
समितिको तर्फबाट वार्ता टोलमिा डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीलगायत छन् । प्रदेशसभाको २०७९ फागुन १७ को बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचानमा आधारित नभएको भन्दै पहिचानवादीहरु असन्तुष्ट रहँदै आएका छन् । उनीहरुले पुनः नामकरणको मागसहित आन्दोलन गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार