सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरणमा विकल पौडेल र सुनील पौडेल पक्राउ

बुधबार, माघ १०, २०८०

काठमाडौं । नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे अनियमितता प्रकरणका अभियुक्त पौडेलद्धयलाई बुधबार पक्राउ गरेको हो । 
गत २०८० असोज १५ मा आयोगले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 
सार्वजनिक सम्पत्ति हिनामिना गरेको र कार्यालयका सवारीसाधनहरुको दुरुपयोग गरि सम्पत्ति विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएकाले  उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ । बुधबार शान्तिनगर र मण्डिखाटारस्थित दुवैका घरमा छापा हानेको अख्तियारले कागजातसहित नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका विकल र सुनिलले पैसा विदेश लान थालेको भेटियो
गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धमा अनुसन्धान भइरहेकाले भागेर जाने तथा प्रमाण नष्ट हुने देखिएपछि पक्राउ गरिएको अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
दुवैले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली विदेशी मुद्रा जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको पाइएको उनले खुलाए । विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकाले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले हिरासतमा लिइएको उनको भनाइ छ ।
विकल पौडेल गत माघ ६ गते कल साइन एफजेड०५७५ रहेको फ्लाई दुबईको जहाजबाट नेपाल आएका थिए । साँझ साढे ६ बजे उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । अध्यागमनको विवरण अनुसार उनी साधारण पासपोर्ट बोकेर दुबईबाट नेपाल आइपुगेको देखिन्छ ।
सुनिल पौडैल लगायतविरुद्ध पेमेन्ट गेटवेमा २३ करोड २७ लाख र विकल पौडेल लगायतविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ ।

 
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार