हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री दाहाल

आइतबार, माघ ७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताए ।  ‘हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो । विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ । पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ,’ सम्मेलनमा आफूले आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको छ । त्यसकारण हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको छु ।’

pm-1705809936.jpegप्रधानमन्त्री दाहालले सम्मेलनमा असंलग्न आन्दोलनमार्फत् आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी संमृद्धि हासिल गर्न प्रयास गर्नुपर्नेमा जोड दिएको बताएका छन् । ‘करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरु बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौँ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ,’ प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनबारे जानकारी दिँदै अघि भने, ‘असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो । यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ ।’ प्रधानमन्त्री दाहालले सम्मेलनमा नेपालले  सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै आएको जानकारी गराएको बताए ।  ‘मैले सम्बोधनका क्रममा असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा  मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्तको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें,’ दाहालको दाबी छ । 
त्यस्तै, कोभिड महामारी पश्चात् विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण,  विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको भन्दै हाल बढिरहेको भू–राजनीतिक ध्रुबीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा समेत ध्यानाकर्षण गराएको उनले बताए । 


प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत भएको बताएका छन् । कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।  प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । 
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगाण्डा गएका थिए । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार