एनआरएनएद्वारा भूकम्पपीडितलाई १ करोड २४ लाख सहयोग (भिडियाे)

शनिबार, माघ ६, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले भूकम्पका प्रभावितलाई राहतका लागि १ करोड २४ लाख ६८ हजार रुपैयाँ सहयोग गरेको छ ।  गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको थियो । एनआरएनए आईसीसीको १९ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ९० दिनको कार्य विवरण शनिबार सार्वजनिक गर्दै उक्त सहयोग गरेको जनाइएको हो ।  कार्यक्रममा एनआरएनए आईसीसीका प्रवक्ता फणीन्द्र पन्तले संघले भूकम्प प्रभावित क्षेत्रमा दीर्घकालीन सहयोगका लागि समन्वय गरेर काम गरिरहेको बताए ।  विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. बद्री केसीसहितको नयाँ कार्यसमिति चयन गरेको थियो । काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीका बीच विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकास लगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको दाबी पन्तले गरे । 
उनले भने, ‘गत नोभेम्बर पहिलो साता जनधनको ठूलो क्षति हुनेगरि गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि संघले स्थानीय सरकारहरुसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।


संघले यसै साता धरान र जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको उनले बताए । 
त्यस्तै, टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ, नेपाली भलिबल राष्ट्रिय टिमका लागि ८ लाख, छैटौं एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा गरेको समेत प्रवक्ता पन्तले जानकारी गराए । 


धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको उनले बताए ।
वैदेशिक रोजगारीको लागि कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ, कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली संघसम्बन्धी ऐन, २०६४ बमोजिम संघ दर्ता गरेको १० वर्ष भएको छ । संघ नवीकरण प्रक्रियाका लागि नेपाल सरकारले तोकेबमोजिमका आवश्यक कागजात परराष्ट्र मन्त्रालयमा बुझाएको भए पनि मन्त्रालयको ढिलाइको कारणले तत्काल संस्थालाई नवीकरणको बाटो खोल्न पाटन उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी उनले गराएका थिए । 
कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा कुनै धाँधली नभएको दाबी गरे । उनले भने, ‘चुनाव हुञ्जेल सहमति हुने, जब नतिजा बाहिर आयो त्यसपछि असहमति जनाउने, त्यो सायद गैरआवासीय नेपाली संघको निर्वाचनमा इतिहासमै पहिलो पटक भएको हो । त्यस्तो खालको अराजकता हामीले कहिले पनि देखेका छैनौं । ’
निर्वाचनका क्रममा उपाध्यक्षको नतिजामा गडबडी भएको स्वीकार्दै अध्यक्ष केसीले भने,  ‘एक जना उपाध्यक्षको नतिजामा गडबडी भएकै हो । त्यसमा अनुसन्धान भयो निर्वाचन समितिले त्यसमा कुनै दोष नदेखेपछि हामीलाई सपथ खुवाएको हो ।’

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार