काठमाडौंको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दैै भारतीयसहितको विज्ञ समूह

बिहीबार, माघ ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ । अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ ।  महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्ने जिम्मेवारी दिएको हो । 
‘८ बर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । त्यस नगरले गरेका काम काठमाडौंसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेका हौँ,’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने, ‘हाम्रो विज्ञहरूको टोलीले एक महिनासम्म काठमाडौंमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गर्नेछ ।’
विज्ञ समूहमा इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहान बुधबार नै काठमाडौं आइपुगेका छन् । उनले सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताए । ‘यसले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ,’ उनको भनाइ छ । 
काठमाडौं महानगरपालिकाले अहिले फोहोर संकलन, ढुवानी र ल्याण्डफिल साइटमा अन्तिम व्यवस्थापनको कामसमेत आफैँ गरिरहेको छ । 
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ । यस्तै, राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाई समेत महानगरपालिकाका कर्मचारी आफैँले गर्छन् । 
यसबाट दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ । अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पु¥याउँछन् । उपत्यकासहित नुवाकोट र धादिङ्का पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।   

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार