नेपाली राहदानीको वरीयता श्रेणीमा सुधार

शुक्रबार, पुस २७, २०८०

काठमाडौं । वैदेशिक यात्राका लागि सर्वाधिक महत्वपूर्ण डकुमेन्टको रुपमा रहने नेपाली राहदानी (पासपोर्ट)ले विश्वव्यापी सूचकांकमा एक स्थान सुधार गरेको छ ।  इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी हुँदा नेपालको पासपोर्ट ९८ औं स्थानमा परेको छ । नेपाल गत वर्ष ९९ औं स्थानमा थियो ।  सन् २००६ मा  ७६ औं स्थानमा रहेको नेपाली राहदानी त्यसपछि लगातार खस्कँदो अवस्थामा थियो । १० वर्षपछि सन् २०१६ मा ९८ औं स्थानमा रहेको पासपोर्ट सर्वाधिक तल्लो वरीयता २०२१ मा ११० औं स्थान पुगेको थियो । सन् २०२२ मा सुधार गर्दै १०६ औं र सन् २०२३ मा ९९ औं स्थानमा आएको थियो । सन् २०२४ को वरीयतामा नेपाली पासपोर्ट ९८ औं स्थानमा आइपुगेको छ । नेपाली राहदानी लिएर ४० देशमा फ्री भिसा यात्रा गर्न सकिन्छ । नेपाल रहेको ९८ औं वरीयतामा लिबिया र प्यालेस्टाइन पनि छन् । गत वर्ष ९९ औं वरीयतामा नेपाल र प्यालेस्टाइनका पासपोर्ट थिए । यो सूचीमा जापान र सिंगापुर विगत ५ वर्षदेखि शीर्ष स्थानमा थिए । तर, यसपटक युरोपका ४ देशले उछिनेका छन् । फ्रान्स, जर्मनी, इटाली, स्पेन शीर्ष स्थानमा छन् । दक्षिण कोरियासँगै फिनल्याण्ड र स्वीडेन दोस्रो स्थानमा छन् । यी देशका नागरिकले बिना भिसा १ सय ९३ देश घुम्न पाउँछन् । सूचीमा अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्यान्ड्स तेस्रो स्थानमा परेका छन् ।
बेलायत चौथो, अमेरिका र क्यानडा सातौं स्थानमा परेका छन् । यी देशका नागरिकले भिसाबिना १८८ देश घुम्न पाउँछन् । अफगानिस्तान यस सूचीमा सबैभन्दा कम स्थानमा छ । जसका नागरिकहरूले २८ देशहरूमा मात्र भिसा फ्री भ्रमण गर्न सक्छन् । उही समयमा हुथी विद्रोहीको शासन चलिरहेको यमनभन्दा पाकिस्तानको अवस्था खराब भएको छ ।
पाकिस्तान १०१ औं स्थानमा छ । सन् २०२३ मा पनि पाकिस्तान सोही स्थानमा थियो । यो सूचीमा नेपालका छिमेकी मुलुकहरु चीन ६२औं र भारत ८० औं स्थानमा छन् । भारतीय नागरिकले ६२ देशको भिसा फ्री भ्रमण गर्न सक्छन् । भारतको वरीयतामा सुधार भएको छ । भारतसँगै उज्वेकिस्तानले पनि ८० औं स्थान हासिल गरेको छ । भारतीय नागरिकहरूले भिसा फ्री भ्रमण गर्न सक्ने ६२ देशहरू छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार