वर्षा र हिमपात नहुँदा सुक्दै हिउँदे बाली

बुधबार, पुस २५, २०८०

मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला, हुम्ला डोल्पा र कालीकोटमा यस वर्ष अपेक्षित रुपमा वर्षा र हिमपात भएको छैन । यसले गर्दा कृषकले लगाएका जै, गहुँ लगायत अन्य हिउँदे बाली सुक्दै गएका छन् । मौसमको प्रतिकूलताले बाली उत्पादनमा नकारात्मक असर परेपछि कृषकहरु आउँदो बर्ष भोकै परिने हो कि भन्ने चिन्तामा छन् । ती क्षेत्रमा खेतीयोग्य जमिन भिरालो भएकाले सिँचाई पर्याप्त हुँदैन । आकाशे पानीको भरमा रहेका मुगु जिल्लाको खमाले, लमेरा, कोटिला, मुर्मा, सेरी, जाम, पिना, मुन्दु, शोभा, रोवा, बाम, लुम, मह, माग्री, सकम्री, सोरुकोट, धैनकोटलगायत चार दर्जनभन्दा बढी गाउाका किसान चिन्तित छन् । लगाएका अन्न बाली सुकेर पहेँला भइसकेका छन् । गत वर्षहरुमा कात्तिक, मंसिर, पुस महिनामा हिउँ परेर सेताम्मे हुन्थ्यो । तर यसपालि पानी नपरेको साथै हिमपात पनि नभएपछि जै, गहुँ, लगायत बालीमा असर परेको हो ।

यो वर्ष पुस महिनाको तेस्रो साता भइसक्दा पनि हिमपात र वर्षा नहुँदा सबै हिउँदे अन्न बाली सुकेर जान थालेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्माका बालकृष्ण रोकाया बताए । पानी नपर्दा पशुचौपायालाई चरिचराउका लागि समेत समस्या भएको छ । चिसोको कारण हावा चल्ने गरेको साथै सुख्खा खडेरीको कारण मानिसमा पनि रुघा खोकी, टाउको दुख्ने, छातीमा समस्या आउने जस्ता समस्या देखिन थालेको छायाँनाथ रारा नगरपालिका–४ का जसबहादुर भामले बताए । मुगुमा रहेको खेतीयोग्य जमिनमध्ये ३ हजारभन्दा बढी हेक्टरमा हिउँदे अन्न बाली जै, गहुँ लगायत लगाउने गरिएको छ । सबैभन्दा बढी भूभाग खेतीका लागि आकासे पानीको भरमा छन् । केही भागमा सिँचाई गरेर खेती गर्ने भए पनि अधिकांश भागको खेती प्रभावित भएइको छ । गर्त वर्षहरुमा मंसिर महिनादेखि नै हिउँ पर्ने भएको समस्या नभएको तर यसपालि भने फरक अवस्था रहेको जिल्ला कषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रचण्ड नकाल देवकोटाले बताए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार