फ्रान्समा ३४ वर्षीय युवा बने प्रधानमन्त्री

'प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी'
मंगलबार, पुस २४, २०८०

काठमाडौं । गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका छन् ।
३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन् । एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नाम आएको हो । यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए । अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नको उत्तराधिकारी बनेका छन् । आफ्नो कार्यकालभर उनले संसद्मा बहुमतको अभावसँग सङ्घर्ष गरेकी थिइन् । हाल शिक्षामन्त्रीका रूपमा रहेका अटलले धेरैलाई अचम्मित पार्दै अगाडि गएका हुन् ।
अब उनीसँग जून महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसद्को निर्वाचनमा फ्रान्स सरकारको नेतृत्व गर्ने दायित्व हुनेछ । उनको राजनीतिक उन्नति निकै तीव्र गतिमा भएको पाइन्छ।
दश वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए । उनी प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन् । एजेन्सी  

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार