होमआइसोलेसनमा बसेकालाई परामर्श दिन ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम सुरु 

कोरोना महामारी नियन्त्रणमा पोखरेली युवा सक्रिय
मंगलबार, जेठ ४, २०७८

कास्की । अस्पतालमा हुनेहरुलाई चिकित्सकले प्रत्यक्ष निगरानी गर्र्ने गरे पनि घरमै बस्नेहरु चिकित्सकीय परामर्शबाट वञ्चित भएकाले पोखरा महानगरपालिकाका युवाले उनीहरुलाई ध्यानमा राखी ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम शुरु गरेका छन् ।  पोखरा–२४ मा क्रियाशील हाम्रो कास्कीकोट युवा सञ्जालले सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा परामर्शका लागि नियमित रुपमा चिकित्सकसँग सरसल्लाह कार्यक्रम सञ्चालन गरेको हो । कास्कीकोट स्थायी घर भई हाल विभिन्न ठाउँमा कार्यरत चिकित्सकलाई  दैनिक रूपमा भर्चुअल  उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ ।
साँझ ६ः३० देखि ७ ः०० बजेसम्मको समय छुट्टयाइएको सो कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दीर्घरोगी तथा अन्य व्यक्तिले आफ्ना स्वास्थ्यसम्बन्धी जिज्ञासा सीधै चिकित्सकसँग राख्न सक्ने सञ्जालका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताए ।
उनका अनुसार इन्टरनेटको पहुँच नभएका व्यक्तिले पनि तोकिएका नम्बरमा एसएमएस वा फोन सम्पर्क गरी आफ्ना  जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको छ ।  डा.सन्तोष अधिकारी, डा.किरण बस्ताकोटी, डा.नवराज बस्ताकोटी, डा.असीम सुवेदी, डा.दीपक मल्ल, डा विश्वराज बस्ताकोटीलगायत चिकित्सकले परामर्श दिँदै आएका छन् । कोरोना सङ्क्रमित भएर घरमै आइसोलेशनमा रहेका बिरामीले लाभ लिन सकून् भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने सञ्जालका संयोजक हेम सुवेदी बताए । प्रत्यक्ष अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानलमार्फत हेर्न सकून् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमको भिडियो अपलोड गर्ने गरिएको र सोको जानकारी सामाजिक सञ्जालमार्फत दिइएको सञ्जालका प्राविधिक संयोजक इञ्जिनियर रुद्रप्रसाद अधिकारीले जानकारी दिए । 

अस्पतालमा स्वास्थ्य सामग्रीका लागि बजेट विनियोजित
जिल्ला समन्वय समिति कास्कीले पोखरा र चार गाउँपालिकाका पालिकास्तरीय अस्पतालमा स्वास्थ्य संरचना, अक्सिजन बेडलगायत स्वास्थ्य सामग्री व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । समन्वय समितिको आज बसेको जुम बैठकले समितिको मौज्दात कोषबाट पालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि  महानगरपालिकालाई रु ६० लाख तथा माछापुच्छ«े, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकालाई १० लाखका दरले ४० लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको हो । 
पालिकाको सिफारिशमा सम्बन्धित स्वास्थ्य संस्थालाई बजेट उपलब्ध गराइने बताइएको छ ।  जिल्लामा कोभिड–१९ को प्रभाव बढी देखिएको तथा   जनशक्तिको सेवा अझै कम भएको देखिएकाले गाउँपालिका र महानगरपालिका क्षेत्रका सरकारी अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग पुगोस् भनेर सो रकम प्रदान गर्ने निर्णय गरिएको समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । यसैगरी पोखरा–१६ स्थित मातृशिशु अस्पतालमा २० शय्याको आइशोलेशनका लागि १५ लाख तत्काल महानगरको खातामा पठाउने निर्णय गरिएको उहाँले जानकारी दिए । 
बैठकले कोभिड–१९को महामारीबीच विभिन्न खाद्य एवं स्वास्थ्य सामग्रीमा अमानवीय तवरबाट कृत्रिम अभाव देखाउँदै अस्वाभाविक मूल्यवृद्धि भएको जनगुनासो आएकाले  मानवीयतालाई ख्याल गर्न र स्थलगत अनुगमन गरी नियमनको प्रक्रियामा ल्याई सहज आपूर्तिको व्यवस्था मिलाउन सबैको ध्यानाकर्षण गरिएको छ ।  हालको महामारीको रोकथाम र नियन्त्रणका लागि जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी सदस्य सहजीकरणमा अझै प्रभावकारी ढंगले लाग्ने निर्णय गरिएको समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।  यसैगरी समन्वय समितिले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालन र स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी घरमा नै रहन जिल्लावासीमा आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार