विपक्षी दलको बहिष्कारबीच बंगलादेशमा आम निर्वाचन सम्पन्न

आइतबार, पुस २२, २०८०

ढाका । बंगलादेशमा हिंसाका घटनाहरूकैबीच आम निर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार बिहान नेपाली समय अनुसार विहान पौने ८ बजेबाट सुरु भएको मतदान बेलुका सवा ४ बजेसम्म चलेको थियो । बंगलादेशमा ३० प्रतिशतभन्दा पनि कम मतदाताले मतदान गरेका छन् । २०१८ को चुनावमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । यसपटक विपक्षीको वहिष्कारका बाबजुद चुनाव भएको हो । तर निर्वाचन अधिकारीले खसेको मतको प्रतिशत सार्वजनिक गरिसकेका छैनन् ।  विपक्षी दलले बहिष्कार गरेका कारण पनि कम मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  मतदानका बेला आज विभिन्न ठाउँमा हिंसाका छिटपुट घटनाहरू भने भएका छन् ।
मतगणनाको नतिजा सोमबार सार्वजनिक हुने छ । विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेकाले सत्तारुढ अवामी लिगको जित निश्चित मानिएको छ । शेख हसिना हाल बंगलादेशकी प्रधानमन्त्री छिन् । बंगलादेशको ठूलो विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले हसिनाको नेतृत्वमा निष्पक्ष निर्वाचन हुन नसक्ने आरोप लगाउँदै वहिष्कार गरेको हो ।  
बंगलादेशमा सांसदको संख्या ३ सय ५० छ । ३०० प्रत्यक्ष र ५० सिट महिलाका लागि आरक्षित छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार