चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्दै

शनिबार, पुस २१, २०८०

काठमाडौं । चुनावको पूर्वसन्ध्यामा बंगलादेशमा हिंसात्मक घटनाहरू बढ्न थालेका छन् । शुक्रबार बंगलादेशको बेनापोल क्षेत्रमा बेनापोल एक्सप्रेसको चारवटा डिब्बामा आगलागी भएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । रेल आफ्नो गन्तव्यमा पुग्न लाग्दा राजधानी ढाकाको कमलपुर रेलवे स्टेशनमा रेलमा आगलागी भएको थियो । बंगलादेशमा भएको रेलवेमा भएको आगलागीलाई सुनियोजित भन्दै घटनाको संयुक्त राष्ट्रसंघको निगरानीमा छानबिन गर्न प्रमुख विपक्षी दल बीएनपी (बंगलादेश नेसनलिस्ट पार्टी) ले माग गरेको छ ।
बीएनपीका वरिष्ठ नेता रुहुल कबीर रिजवीले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।  उनले रेलमा केही बदमासले आगजनी गरेको घटना हृदयविदारक रहेको बताए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुःख व्यक्त गदै घटनामा मारिएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरुको तत्काल उपचार गर्न निर्देशन समेत दिएकी छन् । 
बंगलादेशमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनको अनुगमन गर्न एक सयभन्दा बढी विदेशी पर्यवेक्षक ढाका पुगेका छन् । अवामी लिगले बीएनपीमाथि हिंसा फैलाएको आरोप लगाएको छ । शुक्रबार पनि खुल्नामा एक विद्यालयमा आगजनी भएको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । हालै एक यात्रु बसमा पनि आगजनी भएको थियो । बंगलादेशको प्रमुख विपक्षी दल बीएनपी र अन्य विपक्षी दलहरूले चुनाव बहिष्कारको घोषणा गरेका छन् । विपक्षी दलले निर्वाचनअघि कामचलाउ सरकार गठन गरी त्यसको निगरानीमा निष्पक्ष निर्वाचन हुनुपर्ने माग राखेका छन् । तर, शेख हसिना नेतृत्वको अवामी लिग पार्टीको सरकारले विपक्षीको मागलाई अस्वीकार गरेको छ । यस्तो अवस्थामा बंगलादेशको चुनावमा हिंसा हुने सम्भावना छ र सारा विश्वको नजर त्यसमा छ । शुक्रबारको घटनालाई पनि यसैसँग जोडिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार