राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे अमेरिकी सर्वोच्च अदालतले फैसला सुनाउने

शनिबार, पुस २१, २०८०

न्युयोर्क । अमेरिकी सर्वोच्च अदालतले डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि चुनाव लड्न पाउने–नपाउने विषयको एउटा ऐतिहासिक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ । कोलराडोको अदालतले ट्रम्पलाई उक्त राज्यमा हुने निर्वाचनमा अयोग्य ठहर्‍याएपछि उनले त्यस विरुद्ध पुनरावेदन दिएका थिए। जसका आधारमा न्यायाधीशहरू मुद्दा अगाडी बढाउन सहमत भएका हुन् । उक्त मुद्दाको सुनुवाइ फेब्रुअरी महिनामा हुनेछ र आदेश देशव्यापी रूपमा कार्यान्वयन हुनेछ । कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् । जसमा तीन वर्षअघिको अमेरिकी संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको घटनाका बेला उनी देशद्रोहमा संलग्न भएको आरोप लगाइएको छ । तर गृहयुद्धकालीन संवैधानिक संशोधनले कतै ट्रम्पलाई उम्मेदवार हुन अयोग्य ठहर्‍याउने त होइन भन्नेमा कानुनी जटिलता देखिन्छ ।  

कानुनी व्यवस्था
अमेरिकाको संविधानको १४औँ संशोधनले ‘देशद्रोह वा विद्रोहमा संलग्न’ जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ । तर ट्रम्पका वकिलले त्यो राष्ट्रपति भइसकेका व्यक्तिका हकमा लागु नहुने तर्क राखेका छन् ।
ती वकिलको तर्क छ, ‘कोलराडोको सर्वोच्च अदालतको निर्णयले कोलराडोका दशौँ लाख मतदाताहरूलाई असंवैधानिक रूपमा बहिष्कार गर्नेछ र सम्भवतः देशभरका लाखौँ मतदाताहरूलाई बेवास्ता गर्न नमूनाको रूपमा प्रयोग गरिनेछ ।’ ट्रम्पले मेइन राज्यका निर्वाचन अधिकारीहरूले उनलाई चुनावबाट अलग्याउन गरेको निर्णयविरुद्ध समेत उजुरी दर्ता गरेका छन् । कोलराडोको उच्च अदालतमा गत महिना अमेरिकी इतिहासमा पहिलो पटक १४औँ संशोधनको प्रयोग गरेर राष्ट्रपति उम्मेदवारलाई चुनावका लागि अयोग्य ठहर्‍याइएको थियो । उक्त निर्णय मत विभाजनबाट भएको थियो पक्षमा चार र विपक्षमा तीन जना न्यायाधीश थिए । सर्वोच्च अदालतले उक्त व्यवस्थालाई कसरी व्याख्या गर्ने भनेर पहिलो पटक टुङ्गो लगाउनेछ । ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रणी उम्मेदवार हुन् । उनलाई यस वर्षको नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुनसक्ने ठानिएको छ । मिनिसोटा र मिशिगनका अदालतले ट्रम्पलाई अयोग्य ठहर्‍याउने प्रयासलाई खारेज गरिदिएका छन् । ओरेगन सहितका अन्य ठाउँका मुद्दा विचाराधीन छन् । अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशहरूको बाहुल्य छ जहाँ तीन जना न्यायाधीशहरू ट्रम्प राष्ट्रपति हुँदा नियुक्ति भएका थिए ।

विगत
सन् २०२१ जनवरीमा जो बाइडनले राष्ट्रपतीय निर्वाचन जितेको प्रमाणित गर्नका लागि सांसदहरूको बैठक भइरहेका समयमा डोनल्ड ट्रम्पका समर्थकहरू संसद् भवनभित्र प्रवेश गरी आक्रमण गरेका थिए । यद्यपि सर्वोच्च अदालतका यी न्यायाधीशहरूले सन् २०२० मा ट्रम्पले बाइडनसँग आफ्नो पराजयलाई चुनौती दिँदै दायर गरेको मुद्दाविरुद्ध फैसला सुनाएका थिए । शुक्रवार अदालत उक्त मुद्दालाई अग्राधिकारसाथ अगाडि बढाउन सहमत भएको थियो जसमा जवाफी बहसहरू ८ फ्रेब्रुअरीलाई तय गरिएको छ । ट्रम्पको कानुनी समूहले १८ जनवरीमा आफ्नो माग दाबी दर्ता गर्नेछ । ट्रम्पलाई अयोग्य ठहर गर्न माग गर्नेहरूले आफ्नो माग दाबी ३१ ज्यानुअरीभित्र पेश गर्नुपर्नेछ । अमेरिकाको शीर्ष अदालतको यस संलग्नतालाई सन् २००० को राष्ट्रपतीय निर्वाचनसँग तुलना गरिएको छ । जोर्ज बुस र एल गोरबीचको विवाद सर्वोच्च अदालतमा पुगेर टुङ्गिएको थियो ।
अनुदारवादी बहुल अदालतले फ्लोरिडाको पुनः मतगणना रोक्ने निर्णयसँगै बुशले जित हासिल गरेका थिए । 

कोलराडोको अदालतले के भनेको छ ?
डिसेम्बर १९ मा कोलराडोको सर्वोच्च अदालतले ‘ट्रम्प देशद्रोहमा संलग्न भएको प्रस्ट र विश्वसनीय प्रमाण फेला पारेको’ जनाएको थियो । राष्ट्रपतिका उम्मेदवारलाई अयोग्य ठहर गर्न संविधानको धारा ३ प्रयोग भएको त्यो पहिलो पटक थियो । अदालतको २१३ पृष्ठ लामो आदेशमा सन् २०२१ को ज्यानुअरी ६ मा भएको दङ्गामा ट्रम्पका गतिविधिहरू जिम्मेदार रहेको र त्यसले देशद्रोह निम्त्याएको दाबी गरिएको छ ।
ट्रम्पले दङ्गाको जिम्मेवारी नलिएका कारण उनलाई अयोग्य ठहर गर्न नमिल्ने दाबी ट्रम्पका वकिलहरूले कोलराडोमा गरेका थिए । उनीहरूले ट्रम्पमाथि देशद्रोहको अभियोग पनि नलगाइएको बताएका थिए ।

मेइनमा भएको निर्णयमा के छ ?

कोलराडोमा सर्वोच्च अदालतले ट्रम्पलाई चुनाव लड्न अयोग्य ठहर गरे तापनि मेइनमा भने त्यहाँका उच्च निर्वाचन अधिकारीले यस्तो निर्णय गरेकी हुन् । ती अधिकारीले संविधानको एउटा अनौठो प्रावधान देखाउँदै यस्तो निर्णय लिएकी छिन् । डेमेक्र्याट पार्टीबाट निर्वाचित भएकी उक्त राज्यकी सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले संविधानको १४औँ संशोधनको धारा ३ मा रहेको व्यवस्थाका कारण ट्रम्पलाई आगामी चुनावमा उम्मेदवार बन्न अयोग्य ठहर गरिएको ३४ पृष्ठ लामो आदेशमा उल्लेख गरेकी छिन् । संविधानको धारा ३ ले “देशद्रोह वा विद्रोह” मा संलग्न व्यक्तिलाई अमेरिकाको सङ्घीय निर्वाचनमा भाग लिनबाट अयोग्य भनेको छ ।
उनको आदेशमा ट्रम्पले “आफ्ना समर्थकहरूलाई चुनावी धाँधलीबारे गलत कथन प्रयोग गरेर उचालेको र क्यापिटलतर्फ जान उक्साएको” उल्लेख छ । ट्रम्पको चुनावी अभियानले भने बेलोजको निर्णय राजनीतिक स्वार्थबाट प्रेरित भएको आरोप लगाएको छ । बेलोजले यस्तो आरोप अस्वीकार गर्दै कानुनी शासनको मान्यताका आधारमा आफूले यस्तो निर्णय लिएको बताइकी छिन् ।–बीबीसी 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार