बंगलादेशमा आइतबार आम निर्वाचन, विपक्षी दल बीएनपीद्धारा आम हडतालको घोषणा

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । बंगलादेशमा आम चुनावका लागि आउँदो आइतबार मतदान हुँदैछ । सत्तारुढ दल जसरी पनि चुनाव गराउने र विपक्षी दल जसरी पनि विथोल्ने रणनीतिमा उत्रिदा सुरक्षा व्यवस्था विथोलिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीले आम निर्वाचनको विरोधमा बिहीबारदेखि ४८ घण्टाको राष्ट्रव्यापी आम हडतालको घोषणा गरेको छ ।  चुनावको मिति घोषणा भएदेखि नै बिएनपीले यी निर्वाचन बहिष्कार गर्दै आएको छ ।  वर्तमान प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा देशभर निष्पक्ष निर्वाचन हुन नसक्ने बीएनपीले लगातार आरोपहरु लगाउँदै आएको छ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले देश भरी चुनाव गराउन अन्तरिम निर्दलीय तटस्थ सरकारको माग गरेको छ ।  सत्तारुढ अवामी लिग सरकारले यो मागलाई अस्वीकार गरेको छ । बिएनपीका सह वरिष्ठ महासचिव रुहुल कबीर रिजभीले बिहीबार पत्रकार सम्मेलन गरी आमहड्तालको घोषणा गरेका हुन् । हडतालका क्रममा पक्राउ परेका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र स्थायी समिति सदस्य अमिर खसरु महमुद चौधरीलगायतका नेताहरुको रिहाइको पनि माग गर्दै आएको छ ।  ह्युमन राइट्स वाचका अनुसार प्रहरीले हजारौं विपक्षी कार्यकर्ता र व्यक्तिहरूलाई पक्राउ गरेको छ । विगत तीन महिनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । राजनैतिक हिंसामा बस र ट्रक सहित कैयौं सवारी साधनमा आगजनी गरिएको थियो । सरकारले सशस्त्र बल बाहेक कोस्ट गार्ड, बोर्डर गार्ड बंगलादेश (बीजीबी) र ¥यापिड एक्सन बटालियन (आरएबी) का सदस्यहरू पनि चुनावी काममा खटाएका छन् ।  चुनावका लागि देशभर अर्धसैनिक सीमा गार्डको एक हजार एक सय ५१ प्लाटुन तैनाथ गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार