ब्रिक्समा ५ नयाँ राष्ट्र समावेश, अध्यक्षता गर्ने पालो रुसको

बुधबार, पुस १८, २०८०

काठमाडौं । यसअघि ५ देशको समूह रहेको ब्रिक्समा सदस्य संख्या १० पुगेको छ । ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स नयाँ सदस्यका रुपमा थप भएका हुन् । पहिले नै ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिक सहभागी थिए । सन् २०२४ सुरु भएसँगै ब्रिक्सको अध्यक्षता रुसमा सरेको छ । अध्यक्षता ग्रहण गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्समा नयाँ पूर्णकालिक सदस्यहरु सामेल हुनु सकारात्मक पहल भएको बताएका छन् । पुटिनले ब्रिक्सको विस्तार अन्तर्राष्ट्रिय मामिलामा यसको महत्त्वपूर्ण भूमिकाको बलियो संकेत भएको पनि बताएका छन् । पुटिनले ब्रिक्स विस्तारको उद्देश्य साझा विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउनु रहेको उल्लेख गरेका छन् ।  ब्रिक्सको शिखर सम्मेलन यसअघि अगस्ट २०२२ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको थियो । यस समूहमा अर्जेन्टिनासहित ६ देशलाई १ जनवरी २०२४ देखि समावेश गर्ने प्रस्तावलाई ब्रिक्सका शीर्ष नेताहरूले अनुमोदन गरेका थिए । तर, अर्जेन्टिनाका नयाँ राष्ट्रपति जेभियर माइलीले गत हप्ता ब्रिक्सबाट बाहिरिने घोषणा गरेका थिए ।  
पुटिनका अनुसार ब्रिक्स सदस्य राष्ट्रहरूले ऊर्जा र खाद्य सुरक्षा सुनिश्चित गर्न पनि काम गर्नेछन् । यसका साथै अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा ब्रिक्सको भूमिका बढाउन पनि प्रयास गरिनेछ । राष्ट्रिय मुद्राहरू आपसी व्यापारमा प्रयोग गरिनेछ । रुसको प्राथमिकताका बारेमा राष्ट्रपति पुटिनले विज्ञान, उच्च प्रविधि, स्वास्थ्य सेवा, वातावरण संरक्षण, संस्कृति र खेलकुदका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने प्रयास गरिने बताए ।  

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार