मेरो राजीनामा माग्नेहरू अन्ततः हारे : पर्यटन मन्त्री किराती

मंगलबार, पुस १७, २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई विभिन्न आक्षेप लगाएर राजीनामा माग्नेहरू असफल भएको दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘तिमी छौं र त’ गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही दिनअघि क्रिसमसको कार्यक्रममा उनले दिएको अभिव्यक्तिको व्यापक विरोध भएको थियो ।  
‘पशुपति हाम्रो सभ्यता र सम्पदाको पनि केन्द्र भनेर मैले १७ हप्ता गुहुमुत सोरेँ, यही हात हो । मलाई पशुपति विरोधी नै बनाउन खोजे तर पशुपति त भगवान नै रहेछन्’, उनले भने, ‘पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे । भगवान रहेछन् जस्तो पनि लाग्न थाल्यो ।’ आफूले अनर्गल अभिव्यक्ति नदिएको दाबी उनले गरे ।
आफ्नो अभिव्यक्तिको विरोधीहरु धर्म विरोधी भएको आरोप उनले लगाए । ‘युगको नेतृत्व गर्छस् भन्ने मान्छेले भालेको डाकमै आँखाका कचेरा नपुछी स्टाटस लेख्छ राजीनामा दे भनेर’, उनले आक्रोश पोखे, ‘के संविधानको व्याख्या गर्न नहुने ? के राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले राजीनामा दिन तयार छु । मेरो पदभन्दा देश ठूलो छ । मेरो लागि देशभन्दा माथि केही छैन । म धर्म मान्छु । मेरो धर्म नेपाली हो । मेरो मन्दिर देश हो र भगवान जनता हुन् ।’ 
उनले धर्मको रक्षाका लागि भन्दै आफूविरुद्ध अभिव्यक्ति दिनेहरुलाई मतिभ्रष्ट रहेको आरोप लगाए । ‘आफूचाँहि लामो टुप्पी पालेर धर्म जपेको जपेकै गरेर आपराधिक काम गर्ने, अनि छोराछोरी सबै क्रिस्मस डेमा टेक्ने ठाउँ नहुने गरी ठमेल जाने, अनि बाँच्छ त हाम्रो धर्म यस्तो तरिकाले ?’ उनले कटाक्ष गरे । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार