चुनावका लागि बंगलादेशको सुरक्षा व्यवस्था कडा 

सोमबार, पुस १६, २०८०

काठमाडौं । जनवरी ७ मा हुने आमचुनावका लागि  बंगलादेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानअघि बंगलादेशभर १.८९ लाखभन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ । देशमा सत्तारुढ दललगायत सबै राजनीतिक दलले आफनो पक्षमा जनमत बढाउन निरन्तर सभा र ¥याली गरिरहेका छन् ।  विपक्षी दल बीएनपीले बहिष्कार गरेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरी परिचालन गरिएको छ ।
प्रहरी मुख्यालयका नायब महानिरीक्षक (अपरेसन) अनवर हुसेनले बंगलादेशभरी १ लाख ८९ हजार प्रहरी परिचालन गरिएको र मतदानको दिन मजिस्ट्रेटसहित निर्वाचन ड्युटीमा खटिने बताए ।


यसका साथै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रहरीले गस्ती समेत गर्नेछ । एक प्रतिवेदन अनुसार करिब १ लाख ७४ हजार प्रहरी विना बिदा ड्युटीमा रहनेछन् भने अन्य प्रहरी नियमित काममा खटिनेछन् ।
विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि देशव्यापी हड्ताल र यातायात बन्दको आह्वान गरिएको छ । वर्तमान प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा देशमा कहिल्यै निष्पक्ष निर्वाचन हुन नसक्ने बिएनपीको भनाइ छ ।  पछिल्लो दुई महिनामा राजनीतिक हिंसामा ११ जनाको मृत्यु भएको छ भने ३ सय ८६ सवारी साधनमा आगजनी भएको छ । 
प्रहरीले बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलगायत राजनीतिक हिंसामा संलग्न धेरै विपक्षी कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार