बिचौलियाको मारमा सुन्तला व्यवसायी, भन्छन्, ‘राज्यले उपेक्षा गर्‍यो’

बिहीबार, पुस १२, २०८०

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ टेक्सिङका किसान पेमासिं तामाङले व्यावसायिक रूपमा सुन्तला खेति गर्न थालेको ३० वर्ष भयो ।  गाउँका सबैले धेरथोर सुन्तला लगाएका छन्, तर पेमासिंले भने व्यावसायिक रूपमा नै सुन्तला बगैँचा बनाएका छन् ।  गाउँका ३० घर बढीले सुन्तला लगाएका छन् । पेमासिं र उनका दाजु औतारसिं लामाका भने ठुला ठुला बगैँचा छन् । 
किसानले परम्परागत रूपमा सुन्तला लगाउँदै आएका भए पनि सरकारले उनीहरूलाई कुनै प्राविधिक सहयोग र अनुदान व्यवस्था गरेको छैन । ‘आफ्नै घरमा सुन्तलाको गेडाबाट बिरुवा उमार्यो, कोदालोले खन्यो रोप्यो, हामीले त्यस्तै गर्दै आएका छौँ’ पेमासिंले भने । 
टेक्सिङको माटो र हावापानी सुन्तला उत्पादनको लागि अति उपयुक्त भएपनि सुन्तला खेती विस्तार हुन नसकेकोमा पेमासिंको चित्त दुखाइ छ । 
उनले गाउँमा सामूहिक सुन्तला खेतीको प्रस्ताव पनि नगरेका होइनन्, तर राज्यको कुनै सहयोग नहुँदा किसानहरू त्यस तर्फ आकर्षित हुन सकेका छैनन् । ‘राज्यले कृषकलाई प्रोत्साहित गरेको छैन, गाउँलेहरू कोदो खानुपर्छ, मकै खानुपर्छ, सुन्तला बगैँचा मात्रै बढाएर के गर्नु भन्नुहुन्छ, यस्तो राम्रो सुन्तला हुने जमिन कोदो र मकै लगाएर राखिएको छ’, पेमासिंले भने । 
विगतमा गाउँमा सडक नपुग्दा डोकोमा बोकेर सुन्तला बजारसम्म र्पुयाउनु पर्दथ्यो । त्यसले पनि सुन्तला खातीमा गाउँलेको मन मरेको हो । तर अहिले गाउँमा सडक पुगेपछि उत्पादित सुन्तला काठमाडौँको कालीमाटी बजारसम्म पुग्न लागेको छ । 
पेमासिंले सात वर्षदेखि कालीमाटी बजारमा सुन्तला र्पुयाउँदै आएका छन् । तर त्यहाँ पनि उनले चित्तबुझ्दो भाउ भने पाएका छैनन् । जहाँ पनि बिचौलियाको बिगबिगी त्यही मारमा पेमासिं परेका छन् । ‘सबैले कालीमाटी कालीमाटी भन्छन् तर त्यहाँ पनि चित्त बुझ्दो भाउ छैन’, उनले भने । 
कालीमाटीको तुलनामा गाउँमा नै सुन्तलको राम्रो भाउ छ । तर गाउँमा मान्छे नै छैनन् । उत्पादन भएको सुन्तला सबै गाउँमा बिक्री हुँदैन । ‘सकेसम्म गाउँमा नै बेच्ने प्रयास गर्छौँ, गाउँमा बिक्री नभएको सुन्तला कालीमाटी पठाउने गरेका छौँ’, उनले भने । 
सामुदायिक फलफूल खेतीको लागि राज्यले विशेष अनुदान सहितको कार्यक्रम ल्याउनु पर्ने र त्यसमा किसानलाई उत्प्रेरित गर्नुपर्ने उनको सुझाव छ । त्यसो नगर्ने हो भने व्यावसायिक खेती विस्तार हुन नसक्ने उनले बताए । 
सडक विस्तारसँगै बजार थप बढ्नेमा पेमासिं विश्वस्त छन् । त्यसैले उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । यति हुँदा हुँदै पनि युवा पुस्तालाई कृषिमा लगाउने कुरामा उनी निक्कै चुनौती देख्छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार