सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे । उनका अनुसार लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा रहेकोमा यसमा उल्लेख्य कमी आएको छ । आइतबार सङ्घीय मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दिल्लीको सङ्क्रमण दर १०.४० मा झरेको छ । दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ । मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचारसमेत गरेका छन् । खोपको अभाब नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि उनले बताए ।
कोभिड–१९ एकै दिन चार हजारको मृत्यु, दैनिक मृत्यु दरमा कमी आएन
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् । शनिबार दैनिक मृत्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो । भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् । हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठनले विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार पुगेको जनाएको छ । हालसम्म सर्वाधिक प्रभावित संयुक्तराज्य अमेरिकामा पाँच लाख ९९ हजार तथा दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ३४ हजारको मृत्यु भएको छ । गङ्गा नदी किनारामा शवको थुप्रो भारतको उत्तर प्रदेशका प्रहरी अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो । जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, “हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौं ।”
शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो । उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले दाबीका साथ भनेका छन्, ‘यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।’ उनले केही मानिसले हिन्दु परम्परा अनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए । एक जना वरिष्ट प्रहरी अधिकृत के.पी. सिंहले कोभिड–१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताउनुभयो । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ, उनले भने । उनले प्रचार गरिएजस्तो नभई नदी किनारामा सानो संख्यामा शव भेटिएका भने स्वीकार गरेका छन् । उनले वास्तविक संख्या दिन इन्कार गरे । दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताए । उनले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिए । हालका दिनहरुमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ । राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गङ्गा नदीले छेउ लगाएका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए तर शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् । उत्तर प्रदेशकै राजधानी लखनऊबाट करिब ४० किलोमिटर दक्षिणको उन्नाउ जिल्लास्थित गङ्गा नदी तटमा बालुवाले छोपेको अवस्थामा गत साता एक दर्जन शव फेला परेका थिए । जिल्ला मजिस्ट्रेट रवीन्द्र कुमारले मृत्युको कारण पहिल्याउन अनुसन्धान जारी रहेको बताएका छन् । भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड–१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन् । तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् । केही हप्तादेखि तिब्र गतिमा फैलिएको कोरोनाभाइरस अहिले केही मत्थर हुन लागेको सरकारका स्वास्थ्य सल्लाहकार डा भि.के. पलले बताए । भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा विगत २४ घण्टामा भारतमा तीन लाख ११ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका उल्लेख छ । यो संख्या अघिल्लो दिनको भन्दा करिब १५ हजारले कमी हो । तर मृत्यु दरमा भने कमी आएको छ । विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।– एपी