इजरायलले भारतबाट १० हजार कामदार लैजाने

बिहीबार, पुस ५, २०८०

काठमाडौं । इजरायल र हमासबीचको युद्धका कारण गाजामा डरलाग्दो अवस्था छ र अहिलेसम्म करिब २० हजार मानिसको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले प्यालेस्टिनीहरूलाई आफ्नो क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको छ ।

यस्तो अवस्थामा इजरायलमा निर्माणदेखि खेतीसम्म सबै कामका लागि कामदारको ठूलो अभाव छ । इजरायली उद्योगीहरूको बारम्बार चेतावनीपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशबाट कामदार ल्याउन सहमति दिएका छन् । साथै उनले पहिलो पहलस्वरुप एसियाली राष्ट्र भारतसँग सहयोग मागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेतान्याहूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कामदार आपूर्तिका विषयमा  छलफल गरेका थिए । त्यसपछि इजरायलको टोली भारत आएर थप छलफल पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अब फेरि इजरायलबाट छनोटकर्ताहरूको अर्को समूह भारत आउने र त्यसपछि भारतीयलाई कामदारको रुपमा छनोट गर्ने प्रक्रिया अघि बढाउने छ ।

इजरायली बिल्डर्स एसोसिएसनका अनुसार सबैभन्दा बढी कामदारको माग निर्माण क्षेत्रमा छ । इजरायली बिल्डर्स एसोसिएसनका उपनिर्देशक शे पोजनरले डिसेम्बर २७ देखि दिल्ली र चेन्नईमा भर्ती प्रक्रिया सुरु गर्ने पुष्टि गरेका छन् ।

अहिले तत्काल इजरायलले भारतबाट १० हजार कामदार लैजाने छ । तर त्यतिले मात्रै नपुग्ने भएकाले संख्या बढाउँदै ३० हजार पु¥याउने योजना छ ।

यसअघि वेस्ट बैंकबाट ८० हजार र गाजाबाट १७ हजार प्यालेस्टिनी काम गर्न इजरायल आउने गर्थे । तीमध्ये अधिकांशको श्रम स्वीकृति हमासको आक्रमणपछि खारेज गरिँदा त्यहाँ अहिले कामदारको चर्को अभाव भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार