मन्थलीमा नगरपालिकाका वडा भवन निर्माण धमाधम

सोमबार, पुस २, २०८०

रामेछाप । मन्थली नगरपालिका वडा कार्यालयका पूर्वाधार व्यवस्थापनमा जुटेको छ । नगरपालिकाले वडा नम्बर २ र १४ मा सुविधासम्पन्न भवन बनाइसकेको छ । नगरमा १४ वटा वडा छन् । भर्खरै चिसापानीमा ८ नम्बर वडाको भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ । 
यसैगरी नगरपालिकाका पाँच वटा वडाका कार्यालय भवन निर्माणको काम भइरहेको छ । वडा १ मन्थली, वडा ३ कठजोर, वडा ७ भटौली, वडा ११ गेलु र वडा नम्बर १३ फुलासीमा पक्की भवन निर्माणकार्य जारी छ  । वडा नम्बर ८ चिसापानीको भवन सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत निर्माण भएको हो । वडा १ मा नगरको आफ्नै लगानीमा तथा वडा ३, ७, ११ र १३ का वडा कार्यालय भवन मन्थली नगरपालिका र संघीय सरकारको साझेदारीमा निर्माण भइरहेको छ ।
वडा १ को भवन निर्माण भएर उद्घाटन गर्न मात्र बाँकी छ । त्यस्तै वडा  ७ को भवन पुस महिनाभित्र सम्पन्न हुँदै छ । वडा ३ र ११ को भवन  चैतसम्म तयार हुने नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताए । वडा १३ को भवन भने ६० प्रतिशत सम्पन्न भएको छ ।  मन्थली नगरपालिकाका पाँच वटा वडाका भने भवन निर्माण सुरु भएको छैन । वडा ४, ५, ६, ९ र १२ मा पक्की भवन निर्माण हुन बाँकी छ । ५ र ९ का आफ्नै कच्ची भवन छन् भने ४ र १२ नम्बर वडा कार्यालय भाडाका घरमा छन् । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार