हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजारयल 

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । अमेरिका र इजरायलबीच हमासविरुद्धको कारबाहीका विषयमा ‘गहन’ वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे विचार गरिरहेको छ । 
यस सम्बन्धमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले अब गाजामा युद्धका क्रममा हमासका नेताहरूलाई निशाना बनाउन सक्ने बताएका छन् । 
रिपोर्टहरूका अनुसार, अमेरिकाले व्यापक बम विष्फोट र भूमिगत कारबाहीको सट्टा हमासका आतंककारी नाइकेहरुलाई (नेताहरु) प्रत्यक्ष ध्वस्त पार्न दबाब दिइरहेको छ । यसै विषयमा इजरायल र अमेरिकाबीचमा लगातार छलफल भएको हो ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंकवादी हमलामा करिब १ हजार दुई सय जनाको मृत्यु भएको थियो । इजरायली सेनाले गरेको जवाफी कारबाहीमा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 
अमेरिकी सल्लाहकार जेक सुलिवानले आफ्नो इजरायल भ्रमणका क्रममा यस युद्धको अर्को चरणमा परिवर्तन हुने बताएका छन् । अब हमास नेताहरू र तिनीहरूको गुप्तचर कार्यहरूलाई लक्षित गर्दै थप आक्रमणहरू गरिनेछ ।
इजरायलको प्रमुख निशानाहरूमा मोहम्मद डेफको नाम पनि समावेश छ। डेफ हमासको सैन्य शाखाको प्रमुख रहेको बताइएको छ । उनलाई अक्टोबर ७ को हमलाको मास्टरमाइन्ड मानिन्छ । हमासका नम्बर दुई कमाण्डर मारवान इसा पनि इजरायली सेनाको निशानामा छन् । गाजामा हमास नेता याह्या सिनवारलाई पनि मार्ने प्रयास भइरहेको छ ।
सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँग बिहीबार भेट गरेको बताए । त्यसमा सेनाका वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिएपछि अन्तर्राष्ट्रिय समुदाय इजरायलविरुद्ध बन्दै गएको चेतावनी दिएका थिए । 
इजरायली अधिकारीहरूसँगको बैठकपछि सुलिवानलाई अमेरिकाले सैन्य सहायता रोक्न सक्छ कि भनेर सोधिएको थियो। उनले जवाफ दिन अस्वीकार गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार