७४ जिल्लामा निषेधाज्ञा 

मनाङ, तेह्रथुम र खोटाङ जिल्लामात्रै खुल्ला 
आइतबार, जेठ २, २०७८

काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएका निषेधाज्ञा थप गरिएका छन । पछिल्लो तथ्यांक अनुसार मुलुकका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । अब मनाङ, तेह्रथुम र खोटाङ मात्रै निषेधाज्ञा जारी हुन बाँकी छ । सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा.विराज कर्माचार्यले बताए । नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । 
पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ  जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ । आज मात्रै सङ्क्रमणदर सात हजार ३६८ हुँदा निको हुने दर भने छ हजार ६४८ रहनाले  सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन् ।  अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ । 
आज मात्रै ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लाले भने यही जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेका छन् । अब निषेधाज्ञा जारी  गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् । 
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार