कोरोना रोक्न देवतालाई बलि !  

आइतबार, जेठ २, २०७८

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरू जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए । नलगाडमा एक  जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिए । उनले भने, ‘यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।’ 
यही जेठ १२  गते मष्टो देवतालाई बलि दिने गरीशनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरू मन्दिरमा जम्मा भएको खत्रीले बताए । 
मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताउनुभयो । पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उहाँले बताउनुभयो । हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरूको बाहुल्य रहेको गाउँ हो । यहाँजुम्लाकै मष्टो देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरू देवताको शरणमा गएका थिए । गाउँलेहरूले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।–रासस
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार