सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ । महासंघले च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी स्व.पत्रकार काकीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । चौध दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ बजे उपचारका क्रममा निधन भएको हो । झापाको साबिक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य थिए । ‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ, साथै शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुन् । उनले सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गरेका थिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसैबीच नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् ।