अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

शनिबार, मंसिर २७, २०७७

वासिङ्टन । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइ रसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ । एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो । हानले यसलाई असत्य भनेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन् । अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ । स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मंगलवारबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन् । फाइजरको खोपले यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति पाइसकेको छ । गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको थियो । जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु संख्या हो ।
एफडीएले के भन्यो ?
बिहीवार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए । तेइस सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए । शुक्रवार ट्रम्पले ट्वीट गर्दै एफडीएलाई सुस्त कछुवाको संज्ञा दिँदै लेखेका थिए,‘डा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ । खेल्न छोड र जीवन रक्षा गर् ।’ वाशिङटन पोस्टले तीन स्रोतलाई उल्लेख गर्दै ह्वाउट हाउसका प्रमुख मार्क मिडोजले हानलाई शुक्रबार खोप स्वीकृत गर्न वा राजीनामा दिन निर्देशन दिएका थिए । तर हानले सञ्चारमाध्यमलाई खोपलाई अनुमति दिन छिटो काम गर्न प्रोत्साहित गरिएको भन्दै मिडोजको फोनका बारेमा सञ्चारमाध्यमले गरेको चित्रण असत्य भएको बताए । राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताएका छन् । फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताएको छ ।–बीबीसी 
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार