कोभिड अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

शनिबार, जेठ १, २०७८

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा कोभिड अस्पताललाई पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । वीरेन्द्रनगर–६ निवासी कोमल कार्की, निरञ्जन केसी र सिद्धपाइला क्याम्पसको सहयोगमा सात लिटरका तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । र्पोटेबल कन्सन्ट्रेटर विद्युत्को माध्यमबाट बिरामीलाई अक्सिजन दिने उपकरण हो ।  उक्त मेसिन नगर प्रमुख देवकुमार सुवेदीलाई सिद्धपाइला क्याम्पसका प्रमुख उपेन्द्र सुवेदी र सुमन केसीले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् । मेसिन ग्रहण गर्दै नगर प्रमुख सुवेदीले बजारमा अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला र्पोटेबल कन्सन्ट्रेटर बिरामीलाई अक्सिजन दिने उपकरण पाउनुलाई महत्वपूर्ण उपलब्धी मान्न सकिने बताए । साथै उनले नगरको आफ्नै व्यवस्थापनमा सञ्चालन भएको कोभिड अस्पताललाई सहयोगी हातको खाँचो रहेको औँल्याए ।  ‘यतिबेला सबैको सहयोग भएमा कोरोना महामारीलाई जित्न सकिन्छ, स्वास्थ्य पूर्वाधारदेखि जनशक्तिको अभाव हुँदाहुँदै नगरले आफ्नै स्रोतले अस्पताल सञ्चालनमा ल्याएको छ’, नगर प्रमुख सुवेदीले भने, ‘कसैको सानो सहयोगले बिरामीको ज्यान जोगिन्छ भने किन सहयोग नगर्ने ? त्यसैले सबैले फराकिलो मनले सहयोगी हातहरू अघि बढाउन सके हाम्रा पूर्वाधार व्यवस्थित बन्न मद्दत पुग्नेछ ।’ कोभिड–१९ को दोस्रो लहर फैलिएपछि वीरेन्द्रनगरले स्वास्थ्य चौकीलाई २५ शय्याको कोभिड अस्पतालका रूपमा स्तरोन्नति गरेको हो ।

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।  सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि यही वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ । प्रशासनद्वारा जारी आदेशमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने उल्लेख छ । निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले भोलि (जेठ १ गते) देखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ । भोलिदेखि खाद्यान्नका पसलहरू सातामा तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) तथा फलफूल, तरकारी पसलहरू दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ । कर्णालीमा हालसम्म कोरोनाबाट १३४ को मृत्यु भइसकेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार