आज लक्ष्मीपूजा, घर घरमा लक्ष्मीको आराधाना गरी पूजा गरिँदै  

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं । यो वर्षको तिहार पर्व हिजो शनिबारदेखि सुरु भइसकेको छ । यमपञ्चकको पहिलो दिन कागतिहार मनाइएको छ ।
आज आइतबार तिहारको दोस्रो दिन कुकुलतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । मलमासका कारण तिथि घटबढ हुँदा यस्तो भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार कात्तिक २६ गते दिउँसो २ बजेपछि औँसी तिथि लाग्छ । साँझमा लक्ष्मीको पूजा–आराधना गरिन्छ ।
लक्ष्मीपूजा साँझमा बढी गर्ने प्रचलन रहेको छ । कसै कसैले रातमा पनि लक्ष्मीको पूजा गर्ने गर्दछन् । लक्ष्मीपूजा गर्ने मान्छेहरू नखाईकन  उपवास पनि बसेका हुन्छन्। 
लक्ष्मीपूजा गर्ने विभिन्न चलन रहेको छ । लक्ष्मीको पूजा गर्ने मान्छेहरू रातभर जाग्राम पनि बस्छन् । राति जागा बसेर भजनकीर्तन गरेर लक्ष्मीको पूजाआजा गर्ने, त्यो प्रचलन पनि छ । 
पहिलेपहिले मनोरञ्जनका साधन नहुँदा जाग्राम बस्न जुवा खेल्ने गरिन्थ्यो । रातभर जाग्राम बस्न गाह्रो हुने हुनाले जुवा खेलेर समय कटाउने गरिएको भनाइ रहेको छ । 
अँध्यारोमा समयमा उज्यालो बनाएर विभिन्न विधिसहित लक्ष्मीलाई आह्वान गर्ने गरिन्छ । लक्ष्मीलाई पूजा गर्न गाईको गोबरले लिपेर, त्यसपछि त्यहाँ सरसफाइ गरेर अनि फूलमा लक्ष्मीलाई विराजमान गराउँदै चारैतिर बत्ती बालेर, दीपावली गरी अँध्यारो रात्रिमालाई  उज्यालो बनाएर लक्ष्मीलाई आह्वान गरिन्छ ।
लक्ष्मीपूजामा विभिन्न परिकार र मिठाई चढाउने गरिन्छ ।  फूल, अक्षता, चन्दन, धूप, दीप, नैवेद्य चढाएर लक्ष्मीको पूजा गर्ने गरिन्छ । 

लक्ष्मीपूजा गर्न सयपत्री फूलको अत्यधिक प्रयोग गरिँदै आएको छ । तर, लक्ष्मीपूजा गर्न सयपत्री फूल नै चाहिने भन्ने अनिवार्य नरहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको भनाई रहेको छ । 
शास्त्रमा फूलमा लक्ष्मीको बास हुन्छ भन्ने लेखिएको छ । सोही कारण लक्ष्मीको पूजा गर्न फूलको प्रयोग गर्ने गरिएको हो । यो मौसममा सबैभन्दा बढी सयपत्री फुल्ने हुनाले सोही फूलको प्रयोग धेरै गरिँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार