आजदेखि तिहार सुरु, पहिलो दिन कागको पूजा गरिने 

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा  खान दिएर मनाइँदै छ । 
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ । कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको हो ।  
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार