राज्यले बिर्सन नसक्ने र अन्तर्राष्ट्रिय रुपमा जानकारी हुने गरी काम गर्दैर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा राज्यले बिर्सनै नसक्ने गरी साथै अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी हुने गरी कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा के भइरहेको छ, के गर्नुपर्ने हो, समस्या र चुनौती कस्ता हुन् र कसरी अघि बढ्ने भन्ने सन्दर्भमा  सबै पक्षलाई समेटेर कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा संलग्न सरकार, विभिन्न अन्तर्राष्ट्रिय दाता, संघ संस्थादेखि नीति निर्मातासम्मलाई एउटै मञ्चमा ल्याएर स्वास्थ्य क्षेत्रको अवस्था र भविष्यको निकास निकाल्ने गरी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रंगशालामा ठूलो कार्यक्रमको आयोजना गर्ने बताए ।

‘नेपाल राष्ट्रले सधैंभरि सम्झने मात्र होइन अन्तर्राष्ट्रिय डोनर, पार्टनर्स, संघसंस्था र हामो स्वास्थ्य क्षेत्रमा काम गर्नेले मात्र होइन अरु क्षेत्रमा काम गर्नेले पनि सिक्नुपर्छ भन्ने किसिमले हामी विश्व स्वास्थ्य सेवा दिवसको दिन दशरथ रंगशालामा कार्यक्रम गर्नेछौं’, मन्त्री बस्नेतले भने ‘त्यो कार्यक्रम भनेको यो क्षेत्रमा काम गर्ने सबै विकास साझेदार र नगर गाउँपािलकाका प्रतिनिधित्व गराउने, संवैधानिक क्षेत्र, राष्ट्र प्रमुखलाई एकै ठाउँमा ल्याएर स्वास्थ्य क्षेत्रमा के भैरहेको छ, के गर्नु पर्ने हो,के कमी छ र कसरी काम गर्न सक्छौ भन्ने कुरा समेत पुरै देश र अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी हुने गरी हामी काम गर्छौ ।’

उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा जति राम्रो र धेरै काम गर्यो उति नै आफूप्रति गाली बढ्दै गएको गुनासो पनि उनले गरे ।

उनले समाजमा राम्रो काम देख्न नचाहनेहरु रहेका र उनीहरुबाट गाली धेरै आउने गरेको टिप्पणी गरे । उनले आफूले मन्त्रालयमा आएपछि स्वास्थ शिक्षा क्षेत्रमा राम्रा काम गरेका र योगदान पुर्याएका कर्मचारीलाई कार्यक्रम आयोजना गरेर सम्मान गरेको स्मरण गर्दै आवश्यकताअनुुसार समाजमा राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने धारणा राखे । 

आफूले मन्त्रालय सम्हालेपछि स्वास्थ्य क्षेत्र र मन्त्रालयको धेरै समस्यालाई समाधान गरेको जिकिर गर्दै उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा सकेजति काम आफूहरुले गरिरहेको बताए । 

धेरै र राम्रा काम गर्नेलाई समाजमा राम्रा काम भएको देख्न नचाहनेले गाली गर्ने भन्दै उनले भने, ‘सक्ने काम हामी गरिरहेका छौं । तपाईंहरु पनि जति राम्रो काम गर्नुहुन्छ गाली धेरै आउँछ । हामी बेस्सरी काम सुरु गरिरहेका छौ, गाली फेरि सुरु भएको छ । समाजमा राम्रो काम देख्न नचाहने हुन्छन् । त्यो समाचारमा झन धेरै बिक्छ । त्यसको पर्वाह नगरी आफ्नो कमजोरीलाई सुधार्नुपर्छ भनेर हामीले काम गर्ने हो ।’

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार