भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपतिद्वारा दुःख व्यक्त

आइतबार, कात्तिक १९, २०८०

काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले, जाजरकोटमा गएको भूकम्पबाट भएको धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई एक शोक सन्देश पठाउँदै राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनताका तर्फबाट भूकम्पमा परेका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । मृतक परिवार तथा घाइतेप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
शोक वक्तव्यमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले नेपाललाई यस विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १५७ जनाको मृत्यु भईसकेको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार