सोसल मिडिया
Contact Us
युनिकोड
त्रिशूली । त्रिशूली अस्पतालमा आरटी–पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन एक साता बन्द हुने भएको छ । अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित नमूना सङ्ख्या एकसाताको लागी पुग्ने भएकाले सङ्कलन रोकिएको हो । स्वास्थ्य कार्यालयलेसूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पिसिआर परीक्षणको लागी प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ । कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागी प्राप्त भएको छ । उनको अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ । अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ । हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसगैँ परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पिसिआर परीक्षण निः शुल्क रहेको छ ।–रासस