सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीको भ्रमण गर्दै गुटेरेस 

राष्ट्रसंघ महासचिव गुटेरेसकाे नेपाल भ्रमणको दोस्रो दिन 
सोमबार, कात्तिक १३, २०८०

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज नेपालका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्दै छन् । नेपाल भ्रमणका लागि गुटेरेस हिजो आइतबार बिहान काठमाडौं आएका हुन् । काठमाडौं ओर्लेको पहिलो दिनमा नै उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट सम्पन्न गरेका छन् ।  सोमबारबाट उनले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । 
त्यस्तै भोलि मङ्गलवार अपराह्न चार बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

Photo (1)1698590480.jpeg
आइतबार बिहानै काठमाडौं ओर्लेका महासचिव गुटरेसले अपराह्न १ बजेबाट महत्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गरेका थिए । 
उनले आइतबार परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । 
उनले भेटवार्ता फरक व्यक्ति र फरक स्थानमा गरे पनि छलफलका विषय भने उस्तै थिए ।  सबै नेताहरुसँगको भेटमा उनले आफू चार कारणले नेपाल भ्रमणमा आएको बताएका छन् । पहिलो– नेपाल राष्ट्रसंघको शान्ति मिसनमा सैनिक पठाउने दोस्रो ठूलो देश भएर ।  दोस्रो– नेपालको मौलिक शान्ति प्रक्रियाका बाँकी कार्यको गति बुझ्न ।  तेस्रो– गौतम बुद्धको देश भएर र चौंथो, जलवायु परिवर्तनले उच्च भूभागमा गरेका असर बुझ्न । 

Guterrus1698369384.jpg

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले सिंहदरबारबाट इजरायल र हमासलाई भने, “सबैले अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ । युद्धमा पनि कानून पालना गर्नुपर्छ । युद्धमा जनताको सुरक्षा कसरी गर्ने भन्ने स्पष्ट छ ।” 

महासचिव गुटेरेसले गाजाको अवस्था झन् झन् बिग्रदै गएको जनाउँदै इजरायली सेनाको कारवाहीले गाजामा अन्तर्राष्ट्रिय मानवीय सहायता कार्य रोकिएकोमा दुःख व्यक्त गरे । नागरिकको हत्या र घाइते बनाउने कार्य स्वीकार्न नसकिने उनले स्पष्ट बताए । 

इजरायलको आक्रमणका कारण गाजामा २० लाख प्यालेस्टिनी औषधि, पानी, विद्युतलगायतका आधारभूत आवश्कयताबाट बञ्चित भएको उनले जनाए । 

WhatsApp Image 2023-10-29 at 2.49.58 PM1698571116.jpeg

उनले युद्धरत दुवै पक्षलाई तत्काल युद्धविराम गर्न र बन्धकलाई मुक्त गर्न आग्रह गरे ।  “अहिले हामी अप्ठेरो र तनावपूर्ण समयमा बाँचिरहेका छौं,” उनले भने । 

विपिन जोशीको रिहाइको अपिल 

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशी सुरक्षित रूपमा नेपाल फर्कन पाउन भन्ने आफ्नो कामना रहेको बताएका छन् ।
उनले यसै महिनाको सुरुमा इजरायलमा हमासले गरेको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका १० नेपालीका परिवारप्रति समवेदना पनि प्रकट गरे।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि संवाददाताहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले आफू कतारबाट भर्खरै नेपाल आएको उल्लेख गर्दै हमासले बन्धक बनाएका सबै निर्सत रिहा हुनुपर्ने बताए ।
उनले इजरायलको आक्रमणका कारण उत्पन्न मानवीय सङ्कटले गाजाको अवस्था अत्यन्तै अस्तव्यस्त भएको भन्दै कुनै पनि पक्षबाट गैरसैनिक क्षेत्रमा हुने आक्रमण अस्वीकार्य रहेको दोहोर्‍याए ।

Antinio1698574494.png
राष्ट्रसङ्घका महासचिवले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्पूर्ण पक्षले पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै युद्धविरामको लागि अपिल गरेका छन् ।

राष्ट्रसङ्घका महासचिवले के के भने ? 
उनले नेपालबारे टिप्पणी गर्ने क्रममा जलवायु परिवर्तनदेखि सङ्क्रमणकालीन न्यायसम्मका विषयको चर्चा गरेका थिए । उनले नेपाल र राष्ट्रसङ्घबीचको गहिरो मित्रता र सहकार्यलाई बढावा दिन आफू नेपाल आएको बताए ।
साथै उनले पछिल्लो २० वर्षमा नेपालले हासिल गरेका गणतन्त्र र विकासका उपलब्धिहरू उल्लेखनीय रहेको जनाउँदै सङ्क्रमणकालीन न्यायसहितका विषयमा प्रगति हुने विश्वास व्यक्त गरे ।

“नेपालले अति कम विकसित देशबाट स्तरोन्नति गर्ने र शान्ति प्रक्रियाका अन्तिम चरणका कामहरू सम्पन्न गर्न लागेकाले अबका केही वर्ष निर्णायक हुनेछन्,” उनले भने ।

uu gen1698538574.jpg
उनले सङ्क्रमणकालीन न्याय प्रणालीले पीडितलाई सहयोग गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय सिद्धान्त र नेपालको सर्वोच्च अदालतका निर्णयहरू स्वीकार गर्ने प्रक्रियालाई राष्ट्रसङ्घले सहयोग गर्ने बताए ।
साथै उनले उल्लेख्य मात्रामा शान्ति सैनिकहरू उपलब्ध गराएर विश्व शान्तिका लागि योगदान दिएको भन्दै नेपालको मुक्तकण्ठले प्रशंसा गरे ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिवसँग आफूले जलवायु परिवर्तनका कारण नेपालमा देखा परेका नकारात्मक असरबारे छलफल गरेको र त्यससँग जुझ्न अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घबाट अझ ठूलो सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए ।
उनले सङ्क्रमणकालीन न्याय प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै त्यसलाई टुङ्गोमा पुर्‍याउन  संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतमा गुटेरसको महत्त्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।
मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले आइतवारै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।

PM Dahal1698574589.jpg
महासचिव गुटेरेसले आइतवारै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
नेपालको शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्ने र जलवायु परिवर्तनसहित अल्पविकसित देशहरूले भोगिरहेका चुनौतीबारे ध्यानाकर्षण गराउने उद्देश्य राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणले राखेको हुनसक्ने विज्ञहरूले बताइरहेका छन् ।  

भ्रमणबारे अधिकारीहरू के भन्छन् ?
परराष्ट्र मन्त्रालयले आइतवार जारी गरेको वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हार्दिक निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस नेपालको चार दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाण्डू आइपुग्नु भएको छ।”

“महासचिवलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा औपचारिक स्वागत गरियो।”

गुटेरेससँगै राष्ट्रसङ्घको ‘पिस अपरेसन’ तर्फका उपमहासचिवसहित वरिष्ठ राष्ट्रसङ्घीय अधिकारीहरू पनि नेपाल भ्रमणमा आएका छन् ।

Photo (2)1698590481.jpeg
उनको सम्मानमा आइतवारै साँझ प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् ।  उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गरेका थिए ।  सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरसले नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । महासचिवको भ्रमण र उनको सम्बोधनको महत्त्वबारे सभामुख देवराज घिमिरेले भने, “नेपालले संयुक्त राष्ट्रसङ्घमा खास गरी शान्ति कायम गर्ने कुरामा शान्ति सेनामा नेपालको बडो महत्त्वपूर्ण भूमिका छ। अलिकति प्रयत्न गर्ने हो भने शान्ति सेनामा खट्नेहरूको सङ्ख्या एक नम्बरमै हाम्रो पुग्न सक्ने र हाम्रो सबभन्दा प्रभावकारी भूमिका देखिने स्थिति छ।”

“दोस्रो–नेपाल अल्प विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा विकास भइरहेको छ र दिगो विकासका सन्दर्भमा पनि नेपालमा गरिएका प्रयत्नहरू र विश्वबाट भइरहेका सहयोगहरूलाई कसरी अझ अघि लान सकिन्छ भन्ने विषय पनि छ।”

उनले अर्को महत्त्वपूर्ण विषय जलवायु परिवर्तन भएको बताए । नेपालले वातावरण बिगार्न खासै भूमिका नखेलेको तर विकसित देशहरूले गरेको प्रदूषणका कारण नेपालजस्ता देशले भोगेको समस्याबारे पनि महासचिवले सम्बोधन गर्नसक्ने घिमिरेले बताउँछन् ।

शान्ति प्रक्रियाका बाँकी रहेका विषयमा पनि उनको चासो हुनसक्ने विषयमा बीबीसीले घिमिरेलाई सोध्दा उनले राष्ट्रसङ्घका महासचिवको आगमनले त्यसलाई सहयोग नै गर्ने बताए ।

“नेपाल जहिले पनि शान्तिको पक्षमा छ। विगतमा आन्तरिक कारणले हामी द्वन्द्वमा फस्यौँ र त्यो द्वन्द्वको समाधान भइरहेको छ। यसलाई सदाको लागि अन्त्य गर्ने गरी विधेयकहरूमा संसद्‌मा छलफल भइरहेको छ,” उनले भने।

Photo (1) (1)1698591123.jpeg

“र, यसबाट पनि सदाका लागि समाप्त गरेर जाने कानुनी आधारहरू पनि तयारी गर्नुपर्ने परिस्थितिमा पनि उहाँको भ्रमणले हामीलाई मद्दतै पुग्छ।” यूएईमा हुने कोप २८ सम्मेलनको पूर्व तयारीका लागि आफ्नो पहिलो भ्रमणका क्रममा राष्ट्रसङ्घका महासचिव गुटेरस नेपाल आएको राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले बताएका छन् ।
नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म उक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन हुने कार्यक्रम छ।
हाल अति कम विकसित देशहरूको समूहको अध्यक्षता नेपालले गरिरहेको छ र यो भ्रमणमा राष्ट्रसङ्घका महासचिवले नेपालप्रति ऐक्यबद्धता जनाउने भनिएको छ। नेपालजस्ता देशहरूले  जलवायु परिवर्तनका विध्वंसकारी असरहरू खेप्नुबाहेक आर्थिक र सामाजिक सङ्कटहरूको पनि सामना गर्नुपरिरहेको राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार