भोलि चन्द्रग्रहण लाग्ने

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौँ  । आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते भोलि शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने छ । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने पञ्चांगमा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको छ । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण हो । 
चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ । दिउँसो ४ः १९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार