दशैंले मेलमिलाप अभिवृध्दि गरोस् भन्दै राष्ट्रपतिले दिए शुभकामना

शनिबार, कात्तिक ४, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैं पर्वको शुभकामना दिँदै सामाजिक सद्भाव, एकता र मेलमिलापको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैंको शुभकामना दिँदै शनिबार जारी वक्तव्यमा राष्ट्रपतिले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सवैलाई प्रेरित गरोस् भनेका छन् ।
पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको यो पर्व सत्यको विजय र आसुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक भएको राष्ट्रपतिले चर्चा गरेका छन् ।  यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने आफ्नो विश्वास रहेको बताउँदै उनले यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनेका छन्।


राष्ट्रपतिले भनेका छन्, ‘हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न पनि थप योगदान गरिरहेका छन्। बडा दसैं पर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ।’

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार