उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र निर्माण गर्न मेयर फोरमको प्रस्ताव 

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं । काठमाडौं मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रूपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । उसले अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर पहलकदमी लिने बताएको छ ।  कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग  सिंहदरबारस्थित उनकै कार्यकक्षमा बिहीबार भेट गर्दै काठमाडौं मेयर फोरमका पदाधिकारीले सरकारसँग एकीकृत आइसोलेसन केन्द्र निर्माणको प्रस्ताव राखेको हो ।  छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन मेयर फोरमलाई आग्रह पनि गरेका छन् । मेयर फोरमका पदाधिकारीको बैठकमा पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनताको जीवन रक्षामा जुट्न आग्रह गरे ।  राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार