सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने मेडिकल अक्सिजनको व्यवस्थाका लगि अस्पतालमा नै १५ दिनभित्र प्लान्ट जडान गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार महामारीका समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तीमा सय शय्या भएका सम्पूर्ण निजी अस्पतालले आजको मितिले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउन अनुरोध गरिएको छ । यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार अक्सिजन प्लान्ट निर्माण गर्ने सामग्रीमा भन्सार छुट दिने निर्णय भएको छ । मेडिकल अक्सिजनको माग बढेको तथा आपूर्ति प्रक्रिया दिनानुदिन जटिल बन्दै गएका अवस्थामा मन्त्रालयका तर्फबाट यस्तो आग्रह गरिएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।
‘१५ दिनमा जडान गर्न सक्दैनौै’ निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई दु्रत ढुवानीको अरू कुनै विकल्प नभएकाले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । ‘सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि दुई करोड रुपैयाँ पर्छ । त्यसको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्’ अफिनका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।