उत्पादनमा केन्द्रित हुन शहकारीलाई सरकारका प्रवक्ता रेखा शर्माको आग्रह 

बिहीबार, असोज २५, २०८०

प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएकी छन् । 
जिल्ला सहकारी संघ प्यूठानले आयोजना गरेको सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अहिले अधिकांश सहकारीहरु ऋण वचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई रोकेर सहकारीहरुलाई उत्पादनमा केन्द्रित गनुपर्ने बताईन् । 
‘सहकारीमा विविधिकरण ल्याउनु आवश्यक छ । धेरै सहकारीहरु वचत ऋणमा केन्द्रित भएको देखिन्छ । यसलाई विविधिकरण गर्दै उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ ।’ उनले भनिन्, ‘स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रुपमा विकसित गर्न यसको विविधिकरणमा ध्यान दिनैपर्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संघ संस्थाहरुको संलग्न गराउनेतर्फ स्थानीय तहहरुले विशेष ध्यान दिनु आवश्यक छ ।’


उनले स्थानीयस्तरमा क्रियाशील सहकारीहरु कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिदैँ ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरुको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताईन् । 
प्यूठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरुलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवं वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरुले बनाउनु उपयुक्त हुने पनि उनले सुझाव दिएकी छिन् ।
उनले अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका बढाउँदै गएमा घरेलु तथा साना, मझौला र सहकारितामा आधारित ठूला औद्योगिक व्यवसायको सञ्चालन गर्न सकिने उल्लेख गर्दै यसतर्फ पनि सहकारीको भूमिका फराकिलो बनाउँदै लैजानुपर्ने बताईन् । 


पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरु देखिन थालेको भन्दै केही सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रुपमा लिन नहुने उनको भनाई छ ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्धनमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । 
देशभरका सहकारीकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औल्याउँदै उनले यो समावेशिताको अभ्यास गर्ने महत्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताए । जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार