महालक्ष्मी नगरपालिकाले सुरु गर्‍यो बजार अनुगमन, ७ दिन भित्र व्यवसाय दर्ता गर्न उपमेयर लक्ष्मी महर्जनको निर्देशन(भिडियो)

सोमबार, असोज २२, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महालक्ष्मी नगर बजार अनुगमन समितिले सोमबार महालक्ष्मी नगरपालिकाका वडा नं १ र २ का ३३ वटा पसलको अनुगमन गरेको हो । महालक्ष्मी नगरपालिकाकी उपप्रमुख एवम् बजार अनुगमन समिति संयोजक लक्ष्मी महर्जनको नेतृत्वमा वडाअध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्च महालक्ष्मी नगरका प्रतिनिधि, महालक्ष्मी उद्योग वाणिज्य महासंघका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो । बजार अनुगमनका लागि नगरपालिका उपप्रमुख संयोजकत्वमा नगरपालिका आर्थिक समितिका संयोजक सदस्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी कार्यालयकाका प्रतिनिधि, उद्योग बाणिज्य संघको प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सदस्य रहेकाे समिति गठन गरिएको छ । 
बजार अनुगमन समिति संयोजक एवम् नगरउपप्रमुख उपप्रमुख लक्ष्मी महर्जनसहितको टोलीले व्यवसाय दर्ता प्रमाण–पत्र, स्थायी लेखा नम्बर (पान) को प्रमाण–पत्र, खाद्य अनुज्ञा–पत्र, औषधी पसल दर्ता प्रमाण–पत्र लगायतका आवश्यक कागजातहरूको अनुगमन गरेको थियो । प्रमाणपत्र नविकरण भए-नभएको विषयमा पनि अनुगमन समितिले हेरेको थियो ।  सोमबार अनुगमन गरिएका ३३ वटा पसलहरूमध्ये अधिकांश व्यवसायीले व्यवासय दर्ता नगरीकनै सञ्चालन गरेको पाइएपछि उपप्रमुख लक्ष्मी महर्जनले व्यवासायीलाई ७ दिन व्यवसाय दर्ता गर्न निर्दशन दिनु भएकाे छ । 
अनुगमन समितिले बिक्रेता वा सेवा प्रदायकले आफ्नो व्यवसायको साइनबोर्ड राखे–नराखेको पनि अनुगमन गरेको थियो । व्यवसायको साइनबोर्ड नराखेका व्यवसायीलाई साइनबोर्ड राख्न उपप्रमुख महर्जनले निर्देशन दिनु भएकाे छ । अनुगमन समितिले वस्तुको मूल्यसूची, वस्तुको परिमाण, मूल्य, गुणस्तर र तौल ठिक भए–नभएको, प्याकेजिङ्ग गरिएको वस्तुको लेबलमा उत्पादक वा पैठारी कर्ताको नाम, उत्पादन मिति, उपभोग्य अवधि वा मिति, अधिकतम खुद्रा मूल्य, मिश्रण, भण्डारण र उपभोग गर्ने तरिका उल्लेख भए–नभएको हेरेको थियो । 
प्रशोधित पानी, विस्कुट, पाउरोटीलगायतका खाद्य तथा उपभोग्य वस्तुहरूको उत्पादन मिति, उपभोग्य मिति केरमेट गरेको वा पुनः लेबलिङ्ग वा छपाई गरेको  भए–नभएको, फलफूल, तरकारी, मिठाई पसल, होटल सफासुग्घर र मापदण्ड अनुसार भए–नभएको अनुगमन गरेको थियो । विक्रेता वा क्रेतालाई वस्तुको विलविजक जारी गर्न पनि अनुगमन समितिले व्यवसायीलाई निर्देशन दिएको छ । 
चाडवाडको मुखमा उपभोक्तालाई अखाद्य सामग्री प्रयोगबाट बचाउन बजार अनुगमन गरिएको नगरउप्रमुख लक्ष्मी महर्जनले शब्दपाटीलाई बताउनु भयो । 'यो अनुगमन कार्य अब निरन्तर रहने छ', उहाँले भन्नुभयो,‘अहिले दिएको निर्देशन पालना नभए व्यवसाय बन्द गर्नेसम्मको कारवाही हुने छ ।’ करको दर बढाउने भन्दा पनि दायरा बढाउनेतर्फ नगरपालिका लागेको उपप्रमुख महर्जनकाे भनाइ छ । 
महालक्ष्मी नगरपालिकाको आर्थिक समिति संयोजक तथा वडा नं १ का वडाअध्यक्ष छिरिङ लामाले व्यवासयीलाई नगरपालिकाले व्यवसाय दर्तामा सहजीकरण गर्ने आश्वसन दिँदै नगरउप्रमुखको निर्देशनलाई पालना गर्न आह्वान गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार