ढुक्कले कोरोना भाइरस खोप लगाउन सकिन्छ ?

नयाँ खोपलाई लिएर सर्वसाधारणमा सुरक्षको चिन्ता 
बिहीबार, मंसिर २५, २०७७

न्यूयोर्क । संयुक्त अधिराज्यका अस्पतालहरूले मानिसहरूलाई फाइजर र बायोएनटेकले कोरोनाभाइरस विरुद्ध विकास गरेको खोपको पहिलो मात्रा दिन थालेका छन् । धेरै मानिसहरू तत्कालै खोप लिन इच्छुक भएपनि कतिपयले थाहा नभएको कुरा शरीरमा राख्नुपर्ने भएकाले चिन्ता व्यक्त गरिरहेका छन् ।

खोप सुरक्षित भएको हामीलाई कसरी थाहा हुन्छ ? 
खोपको सुरक्षा सम्बन्धी प्रारम्भिक परीक्षण प्रयोगशालामा सुरु हुन्छ र त्यो जीवको कोष र जनावरहरूमा गर्ने गरिन्छ । त्यसपछि मात्रै मानवमा परीक्षण हुन्छ । सैद्धान्तिक रूपमा सानोस्तरको अध्ययन गर्दा त्यसमा कुनै सुरक्षा कैफियत देखा परेन भने मात्रै त्यो अर्को चरणमा प्रवेश गर्छ । 

परीक्षणको भूमिका कस्तो हुन्छ ?
सुरक्षासम्बन्धी प्रयोगशालाको तथ्यांक राम्रो भएको अवस्थामा वैज्ञानिकहरूले खोपको प्रभावकारीता जाँच्न सक्छन् । यसको अर्थ उनीहरूले ठूलो संख्यामा स्वंयसेवकहरूलाई खोप दिनसक्छन् । फाइजर र बायोएनटेकको सन्दर्भमा लगभग ४० हजार जना स्वयंसेवी खोपको परीक्षणमा सहभागी भएका थिए । परीक्षणका क्रममा स्वयंसेवकहरू मध्ये आधालाई वास्तविक खोप दिइन्छ र अर्को आधालाई प्लसीबो भनिने कुनै खराबी नगर्ने र औषधीय गुण नभएको पदार्थ दिइन्छ ।
पूर्वाग्रही परिणाम नआओस् भनेर अन्तिम परिणाम नआउन्जेलसम्म अनुसन्धानकर्ता र सहभागीलाई को कुन समूहमा छ भनेर भनिँदैन ।
सबै काम र निष्कर्षको स्वतन्त्र रूपमा जाँच गराइन्छ । कोभिडको खोपको परीक्षण द्रुत गतिमा भएपनि त्यसमा यी कुनै प्रक्रिया मिचिएका छैनन् ।
परीक्षणमा सहभागी हजारौँ मध्ये एक जनाको मृत्यु भएपछि कारण पत्ता लगाउन अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको परीक्षण एक पटक स्थगित गरिएको थियो । खोपका कारण त्यसो नभएको प्रमाणित भएपछि परीक्षण फेरि अघि बढेको थियो ।

खोप वा उपचार कसले स्वीकृत गर्छ ?
खोप सुरक्षित र प्रभावकारी भएको भन्नेमा यूकेमा सरकारी नियामक निकाय एमएचआरए सन्तुष्ट भएको खण्डमा त्यहाँ त्यसलाई प्रयोगको अनुमति दिइन्छ । खोपको कुनै नकारात्मक परिणाम नहोस् र दीर्घकालीन जोखिम नहोस् भन्नका लागि निरन्तर जाँच गरिन्छ । स्वतन्त्र विज्ञहरूको ‘जोइन्ट कमिटि अन भ्याक्सिनेशन एण्ड इम्युनाइजेशन’ले खोपलाई कसरी राम्रोसँग प्रयोग गर्ने र कसलाई सुरुमा दिने भन्ने निर्णय गर्छ ।
कोभिडको खोपमा के छ ?

फाइजर र बायोएनटेकको खोप (मोडेर्नाको खोपले पनि)  ‘आनुवंशिक कोड’ हरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ ।
यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरीरलाई कोभिडविरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ ।
अक्सफर्ड एस्ट्राजेनेकाको खोपमा कुनै जोखिम नभएको भाइरसलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ जस्तै हुने बनाइन्छ । खोपलाई स्थिर बनाउन कहिले कहिले एलुमिनियम जस्ता पदार्थ पनि मिसाइन्छ ।

के खोपले बिरामी बनाउँछ ?
सानो परिमाणमा यी तत्वको प्रयोग गर्दा त्यसले नोक्सान गर्ने कुनै प्रमाण फेला परेको छैन । खोपका कारण रोग लाग्दैन । बरु तोकिए बमोजिमका संक्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन् । केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिन्छन् । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो । खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो । यूकेको एमएचआरएले फाइजर र बायोएनटेक खोपको परीक्षणको समयमा आफूले कुनै ‘गम्भीर नकारात्मक प्रतिक्रिया’ प्राप्त नगरेको जनाएको छ । समाजिक सञ्जालहरूमा खोप विरोधी ‘काल्पनिक कथा’हरू फैलाइएकाले सावधान हुनुपर्छ । ती पोष्टहरू वैज्ञानिक सुझावका आधारमा गरिएका छैनन् । 

कोभिड भएको व्यक्तिले खोप लगाउनु सुरक्षित हो ?
विगतमा कोभिड–१९ भएपनि मानिसहरूलाई खोप दिइन्छ । किनभने प्राकृतिक रोग प्रतिरोधी क्षमता लामो समय नटिक्न सक्छ र खोप लगाउँदा थप सुरक्षा कायम गर्न सकिन्छ । पब्लिक हेल्थ इङग्लण्डको निर्देशिकाले दीर्घकालीन कोभिड भएकालाई खोप दिदाँ समेत सुरक्षा चिन्ता नरहेको उल्लेख गरेको छ । तर अहिले कोभिड १९ भएका व्यक्तिहरूले सञ्चो नहुनजेलसम्म खोप लिनुहुँदैन ।

खोप कति जनावर–मैत्री छन् ?
कतिपय खोपहरू जस्तै सिंगल्स विरुद्धको खोप वा केटाकेटीलाई दिने फ्लुको खोपमा सुँगुरको जिलेटीनको प्रयोग गरिन्छ । कतिपय खोपहरू कुखुराको अण्डामा वा भ्रुणको कोषमा विकास गरिन्छ । अहिले सैयौँ कोभिड–१९ विरुद्धका खोपहरू विकास भइरहेका छन् । हामीलाई सबैमा कस्तो मिश्रण छ थाहा छैन तर धेरै कोभिडका खोपहरू शाकाहारी वा शाकाहारी–मैत्री रहेको अपेक्षा गरिएको छ । 

नलगाउँदा पनि हुन्छ ?
खोप गम्भीर खालका संक्रमणको विरुद्ध सर्वोत्कृष्ठ रक्षाकवच भएको व्यापक वैज्ञानिक प्रमाणहरू छन् । कोभिड विरुद्धको खोपले मानिसलाई गम्भीर बिरामी बन्न नदिने र ज्यान जोगाउने लक्ष्य राखेको देखिन्छ ।  खोपका सुरुवाती मात्राहरू बढी जोखिममा रहेका र गम्भीर बिरामी पर्न सक्ने ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराउने भनिएको छ । खोपले सुरक्षा दिएर संक्रमण मानिसहरूका कारण फैलनबाट कति रोक्नसक्छ त्यो प्रष्ट छैन । यदि राम्रोसँग त्यसो हुनसक्यो भने पर्याप्त मानिसहरूलाई खोप लगाउँदा यो रोगलाई सखाप पार्न सकिने थियो ।–बीबीसी
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार