सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौँ जिल्ला प्रशासनले अक्सिजन अभावमा बिरामी भर्ना गर्न नसक्ने अस्पतालहरुको विज्ञप्तिले सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य गरेको भन्दै संकटको बेला मानवीयता देखाउन आग्रह गरेको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको हो । अक्सिजन पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै केही निजी अस्पतालहरुले सार्वजनिक सूचनाका नाममा विज्ञप्ति जारी गरेको प्रति प्रशासनले असन्तुष्टि प्रकट गरेको हो ।
‘यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ’ प्रशासनको विज्ञप्तिमा भनिएको छ । ‘यस्तो अवस्थामा मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि ध्यानाकर्षण गरिएको छ’, प्रशासनको विज्ञप्तिमा उल्लेख छ । वर्तमान परिस्थितिमा सङ्क्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट प्रयास भइरहेको पनि प्रशासनले उल्लेख गरेको छ । यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रशासनलले जोड दिएको छ । काठमाडौं उपत्यकाका ठूला निजी अस्पतालहरुले अक्सिजन अभावले नयाँ बिरामी भर्ना लिन नसकिने भन्दै विज्ञप्ति प्रकाशित गरिरहेपनि प्रशासनको चेतावनीयुक्त विज्ञपित आएको हो ।