बिहीबारदेखि उपत्यकामा अत्यावश्यकबाहेक कार्यालय बन्द

बुधबार, वैशाख २९, २०७८

खाद्य सामग्री खरिद–बिक्री बिहान १० बजेसम्म  
मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक 
अत्यावश्यक सेवा लिनुपर्दा बाहेक घर बाहिर निस्कन नपाउने
सार्वजनिक–निजी सवारी साधन सञ्चालनमा रोक 
विवाह, ब्रतबन्ध होटल–पार्टी प्यालेसमा गर्न रोक 
घरमै सामाजिक कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने 

काठमाडौं । काठमाडौँ उपत्यकामा  बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएका छन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने छन् ।  काठमाडौं प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ । ‘निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक जिल्लास्थित अन्य कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने÷गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’, प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । 
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।  यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई साता उक्त आदेश जारी गरिएको हो । 

उपत्यकाको तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।  उनका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छन् । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुनेछन् । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।
सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।  विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।–रासस

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार